INSEC Online

📅 २०८३ जेष्ठ २१

पुरूष श्रमिक सरह ज्याला नपाउने गरेको महिला श्रमिकको गुनासो

जिल्लामा गरिने श्रममुलक कार्यमा समान काम गरेपनि असमान ज्याला पाईने गरेको श्रमिक महिलाहरूको गुनासो रहेको छ । महिलाले पुरूष समान काम गरेपनि ज्यालामा भने विभेद हुने गरेको शारदा नपा–३ निवासी ३० वर्षीया दिलमाया कुवरले गुनासो गर्नुभयो । स्थानीय सडकमा निर्माणमा मजदुरी गरिरहनुभएकी उहाँ बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म काममा खटिँदा पनि दैनिक पाँच सय रुपियाँ मात्र ज्याला पाउने गरेको बताउनुहुन्छ ।
आफुसंगै गिट्टी बालुवा, सिमेन्ट ओसार्ने देखि ढलानको कार्यमा काम गर्ने पुरूष श्रमिकले भने दैनिक ६ सय रुपियाँ ज्याला पाउने गरेको दिलमायाले गुनासो गर्नुभयो । महिला र पुरूषले श्रमिकले समान काम गरेपनि ठेकेदारहरूले ज्यालामा विभेद गर्ने गरेको दिलमायाको भनाई छ ।
सदरमुकाम आसपासका क्षेत्रमा ढलानको काममा मजदुरी गर्दै आउनु भएका स्थानीय नमुना नेपाली पनि ज्यालामा विभेद हुने गरेको बताउनुहुन्छ । आफुसँगै काम गर्ने पुरूष श्रमिकको तुलनामा महिला श्रमिकले कम ज्याला पाउने गरेको नेपालीको भनाई छ ।
जिल्लाका अधिकांश ठाउँमा हुने विभिन्न विकास–निर्माणका काममा पुरूषसँगै महिला मजदुर पनि श्रममा खटिने गरेको भएपनि असमान ज्यालामा काम गर्नुपरेको अधिकांशको गुनासो छ । समान ज्यालाको माग गर्दा कामबाट हटाइदिने डरले पनि आफूहरू बोल्न नसक्ने महिला श्रमिक बताउँछन् ।
गत वर्ष गरिएको आर्थिक गणनाअनुसार जिल्लामा श्रम गर्नेको संख्या दुई हजारभन्दा बढी छ । त्यसमध्ये महिला श्रमिक आठ सयभन्दा बढी रहेको तथ्यांकमा उल्लेख छ । पुरूष वैदेशिक रोजगारीमा जाने गरेकाले ग्रामिण क्षेत्रका महिलाले जीविकोपार्जनका लागि मजदुरी गर्दै आएको देखिन्छ ।
समान ज्यालाको माग राख्दै आए पनि ठेकेदार र उपभोक्ता समितिले बेवास्ता गर्दै आएको मजदुर विमला रोकाले बताउनुभयो । गाउँका युवा रोजगारीका लागि बाहिर गएकाले ग्रामिण क्षेत्रमा हुने अधिकांश विकास निर्माणका काम महिलाले गर्दै आएको बनगाड कुपिण्डे नपा–९ जयतपानीकी निर्मला बुढाको भनाई छ ।
पाखोबारीमा लगाएको अन्नले तीन महिना खान पुग्दैन,’–बुढाले भन्नुभयो, ‘भारत र खाडी मुलुकमा गएका युवाले पठाएको रकम चाडबाड र ठूला खर्च धान्न ठिक्क हुन्छ, महिलाले मजदुरी नगरे अधिकांश घरमा चुलो बल्न पनि मुस्किल हुन्छ ।’
शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी भने नगरपालिकाले सञ्चालन गरेका विकास योजनामा लैङ्गिक विभेद नगरिएको दाबी गर्नुहुन्छ । ज्यालामा विभेद भएको भेटिएमा नगरपालिकालाई जानकारी गराउन नगरप्रमुख अधिकारीले आग्रह समेत गर्नुभयो । अधिकांश स्थानीय तहले श्रमिकसम्बन्धी नयाँ कानुन नबनाएकाले जिल्लाको दर अनुसार ज्याला दिइरहेको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले दक्ष र अदक्ष कामदारको ज्याला फरक भए पनि महिला–पुरूषको पारिश्रमिक कानुनमै समान रहनुपर्ने भन्ने रहेको बताउनुभयो ।
ज्यालामा विभेद गरेको गुनासो आए दोषीलाई कारवाहीको दायरामा ल्याइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो । जिल्लामा दक्ष सिमर्की, नकर्मी र डकर्मीको एक दिनको ज्याला नौ सय रुपियाँ, अर्धदक्षको ६ सय ७५ रुपियाँ र अदक्ष मजदुरको ६ सय रुपियाँ ज्याला तोकिएको छ ।

अन्य

भिडियो