INSEC Online

📅 २०८३ जेष्ठ २१

जनता आवास कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाहरूको गुनासो

नेपाल सरकारले विपन्न नागरिकहरूका लागि सञ्चालन गरेको जनता आवास कार्यक्रम प्रभावकारी हुन नसकेको एक कार्यक्रममा सहभागि सरोकारवालाहरूले गुनासो गरेका छन् ।

अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) बैतडीले पुस २५ गते आयोजना गरेको आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रमका सहभागि सरोकारावालाहरूले यस्तो गुनासो गरेका हुन् ।

सरकारले हलिया मुक्त राष्ट्र घोषणा गर्दा हलियाका तर्फबाट हस्ताक्षरकर्ताका रूपमा रहेका दशरथचन्द नगरपालिका– ४ का राजुराम भुलले मुक्त हलिया र विपन्नका नाममा सञ्चालन गरेको जनता आवास कार्यक्रम पहुँचको भरमा वितरण गरिएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो –‘हलियाले घर पाउने कुरामा हामी ढुक्क थियौँ । तर, अहिले हलियाका नाममा बलिया र पहुँच भएकाले मात्रै घर पाएका छन् ।’

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले प्रशासनकै आँखा छलेर गरिबका नाममा तीन जना हुनेखानेले झुक्याएर जनता आवासको कार्यक्रम पाएको बताउनु भयो ।

उहाँले भन्नु भयो –‘पञ्चेश्वर गाउँपालिकाबाट तीन जना हुनेखानेले जनता आवास कार्यक्रम पाएको उजुरी आयो । छानबिन गरेर एक हप्ता भित्र प्रतिवेदन बुझाउन निर्देशन दिए । तर, प्रशासनलाई नै प्रतिवेदन नदिइ कुरा मिलिसकेको जानकारी गराइयो । अवस्था यस्तो छ ।’

भवन डिभिजन कार्यालयबाट घर नहुनेलाई जनता आवास उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको भए पनि जनता आवास हुनेखानेले मात्रै पाउने गरेको दशरथचन्द नगरपालिका– ४ का वडा अध्यक्ष मोहन चन्दले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो –‘दशरथचन्द नगरपालिका–४ का १७ जनाका लागि जनता आवास उपलब्ध गराइ दिन भवन डिभिजनमा यो वर्ष सिफारिस गरेर पठाए ।  तर, सिफारिस गरेकाहरूले आवस पाएनन् ।’

दशरथचन्द नगरपालिका कार्यपालिका सदस्य डम्बर टमटाले दशरथचन्द नगरपालिकाले मेयर आवास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे पनि कार्यान्वयन नभएको गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो – ‘ हलिया समुदायबाट नगरपालिकामा कार्यपालिका सदस्य चुनिएको छु । वास्तविक घर नहुने हलिया, मजदुर र गरिबलाई घर उपलब्ध गराउन सकिरहेको छैन ।’

पाटन नगरपालिकामा पनि वास्तविक विपन्न परिवारले आवासको अधिकारबाट वञ्चित हुनु परेको गुनासो गरेका छन् ।

कार्यक्रममा सहभागि पाटन नगरपालिका– ६ का राजेसराम दमाईले आफूसँग घर नभएका कारण  अर्काको गोठमा सुत्दै आएको दुखेसो पोख्नु भयो ।

उहाँले भन्नु भयो –‘मैले पनि जनता आवस कार्यक्रम अन्तर्गत फारम भरेको थिए ।  तर, मेरो नामै आएन ।’

कार्यक्रमका सहभागि पाटन नगरपालिकाका प्रमुख केशबबहादुर चन्दले आगामी दिनमा राजेसराम दमाईजस्ता वास्तविक विपन्न परिवारले आवासको अधिकारबाट वञ्चित हुनु नपर्ने बताउनु भयो ।

पाटन नगरपालिकामा पनि मुक्त हलियाको  पुनस्र्थापना हुन नसकेको  हलिया मुक्ति समाज, बैतडीका अध्यक्ष रमेस कोलीले बताउनु भयो ।

हलिया मुक्त भएपछि सरकारले हलियाको वर्गीकरण गरेर परिचय–पत्र वितरण गरेको भए पनि  वास्तविक हलियाले परिचय–पत्र नपाएर बलियाले पाएको मुक्त हिलयाहरूको आरोप छ ।

हलिया बस्तीबाट स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा विजयी हुनु भएकी पार्वती भुलले परिचय पत्र वितरणमै भएको अनियमित कार्यको छानबिन गरी त्यो परिचय पत्र खोसेर वास्तविक हलियालाई वितरण गर्नु पर्ने बताउँदै पहुँच भएकाहरूले नै मुक्त हलिया परिचय–पत्र पाएको गुनासो गर्नु भयो ।

दशरथ चन्द नगरपालिका–४, बाडिलेकका हलिया अगुवा राजुराम भुलले हलिया समुदायसित मर्ने बेला कात्रो किन्ने पैसा नहुँदा रकम सङ्कलन गरेर दाहसंस्कार गर्नु पर्ने बाध्यता रहेको  गुनासो गर्नु भयो ।

बजारमा भारी बोकेर गुजारा गर्दै आइरहेका प्रेम भुलको मृत्यु हुँदा घरपरिवारसित कात्रो किन्ने पैसा नभएपछि शाहीलेक बजारबाट पैसा सङ्कलन गरेर दिइएको बजार व्यवस्थापन समितिका सदस्य सानु भण्डारीले बताउनु भयो ।

उहाँले भन्नु भयो – बैतडीको दशरथचन्द नगरपालिका–४ बाडीलेकका मुक्त हलिया प्रेम भुलको गत शुक्रबार निधन भयो । भुलको दाहसंस्कार गर्न घरमा कात्रो किन्ने पैसा नभएपछि गाउँले र स्थानीय बजारबाट २ हजार ५ सय २५ रुपियाँ सङ्कलन गरेर दियौँ ।

बैतडीको दशरथचन्द नगरपालिका–४, बाडीलेकको हलिया बस्तीमा ९० जना हलियामध्ये अधिकांशले हलिया मुक्ति परिचय –पत्र नपाएको मुक्त हलिया राजुराम भुलले बताउनु भयो ।

हलिया मुक्ति समाज महासंघका पूर्व अध्यक्ष समेत रहनु भएका भुलले भन्नु भयो – ‘बैतडीमा २ हजार २२ जना हलिया प्रमाणीकरण भए पनि १ हजार ६ सय हलियाले मात्र परिचय–पत्र पाएका छन् ।’

photos20200112baitadi (1) photos20200112baitadi (3)

 

अन्य

भिडियो