रूण्टीगढी गाउँपालिकास्थित होलेरी प्राथमिक स्वास्थ्य केन्द्र ०७६ असोजदेखि डाक्टर विहीन हुदाँ बिरामीहरू उपचारकालागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । कार्यरत डाक्टर आकाश बेलवासे समायोजनमा गए पछि स्वास्थ्य केन्द्र डाक्टर विहीन भएको हो ।
डाक्टर नभएपछि पहिले हुँदै आएको पोष्टमार्टम र भिडियो एक्सरे सेवा बन्द भएको छ भने बिरामीलाई जिल्ला बाहिर लैजादा उपचार समेत महङ्गो पर्ने गरेको छ । रुन्टीगढी गाउँपालिका–४ मसिनाका टेकबहादुर पुनले ३ सय रूपियाँले हुने उपचारकालागि दाङको घोराही गएर महङ्गो उपचार गराउनु परेको बताउनु भयो । पुनले स्वास्थ्य केन्द्रमा पर्याप्त औषधि समेत नभएको बताउनु भयो ।
दैनिक ४० देखि ४५ जना बिरामी उपचारकालागि आउने होलेरी स्वास्थ्य केन्द्रमा तीन जना अनमी र तीन जना अहेवले सेवा दिदै आएको अहेव बुद्धिजिवी सेजवालले बताउनु भयो । उहाँका अनुसार डाक्टर नहुदाँ बिरामीलाई दाङ पठाउने गरिएको छ ।
डाक्टर पठाउन स्वास्थ्य मन्त्रालयमा आग्रह गरेको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताउनु भयो । समायोजन भएर डाक्टर गएपछि अहिले दरवन्दी रिक्त रहेको गाउँपालिका स्वास्थ्य संयोजक गणेश बुढाले बताउनु भयो ।