मिथिला नपा–५ स्थित औरही खोलामा बालुवा गिट्टी उत्खन्न गर्दै गरेको टिपरले किचेर सोही वडाको श्रीपुर बस्ने २५ वर्षीय दिलिप भनिने ओमप्रकाश महतोको हत्या गरिएको पीडित परिवारको आरोप छ ।

औरही खोलामा अवैध तरिकाले उत्खनन भइरहेको भन्दै ओमप्रकाश महतोले विरोध गर्दै आएका थिए । पुस २५ गते बिहान चार बजे घरबाट छिमेकी साथी २३ वर्षीय रोशन यादवसँग मर्निङ्वाक गएको बेला घर नजिकैको खोलामा ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर उनको हत्या गरिएको मृतकका सानीआमाको छोरा रमेशकुमार महतोले जानकारी दिनु भएको छ । महतो भारतको भुपालमा इन्जिनियरिङ अध्ययनरत थिए । महतो विदामा घर आएका थिए ।
घटनाबारे इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर रामकुमार यादवले प्रहरीको टोली घटनास्थल पुग्दा महतोको मृत्यु भइसकेको थियो । प्रहरीले घटनास्थलबाट शवको मुचुल्का गरि पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ । तर, पीडित परिवारले हत्या भएको भन्दै घटनाको अनुसन्धान हुन पर्ने माग गर्दै विरोध गरेका कारण शवको पोष्टमार्टम हुन सकेको छैन । टिपरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ढल्केवरमा राखिएको छ ।
प्रहरी इन्स्पेक्टर यादवका अनुसार खोला उत्खन्न गरिरहेकै स्थानमा टिपरले किचेर हत्या गरेको हुन सक्ने सम्भावनाका कारण घटनाको गहन अनुसन्धान भइरहेको छ ।
घटनाको विरोधमा स्थानीय बासिन्दाहरूले मिथिला नपा–५ श्रीपुर स्थित पूर्वपश्चिम राजमार्गमा सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् । अवरुद्ध सडक खुलाउने क्रममा प्रदर्शनकारीको ढुङ्गामूढाबाट जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेशकुमार वस्नेतको हातमा चोट लागेको छ । हाल अवरुद्ध सडक सूचारू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


