INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी

कोहलपुर नगरपालिका–१५ का १८ वर्षीय दिपक यादवलाई जिल्ला प्रहरी कार्यालयले चोरीको आरोपमा गिरफ्तार गरी यातना दिएको भन्दै पीडित पक्षले पुस २३ गते राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जमा उजुरी दिएका छन् ।

पीडित पक्षले यातना दिएको घटनाको अनुसन्धान गरी यातना दिने प्रहरीलाई कारवाही र पीडितलाई क्षतिपुर्तिको माग गर्दै दिएको उजुरीको बोधार्थ पुस २३ गते इन्सेक नेपालगञ्जमा दिएको छ ।
बसमा यात्रा गर्ने क्रममा पुस १३ गते एक जना महिलाको  झोला र आवश्यक कागजात हराएको भन्दै नेपालगन्जबाट कोहलपुरतर्फ जादै गरेको भे १ ख २२३९ नम्बरको बसलाई प्रहरीले कारकादो चोकमा रोकेर यात्रुलाई झार्न लगाई बसका चालक कोहलपुर नपा–६ बस्ने सुवास थारु , कन्डक्टर कोहलपुर नपा–७ बस्ने जंगली थारु र सहचालक दिपक यादवलाई जिल्ला प्रहरी कार्यालय लिएर गएको उजुरीमा उल्लेख छ ।

प्रहरी कार्यालयमा लगेर समान कहाँ छ भन्दै लात्ताले ढाड, खुट्टा, टाउकोमा हानेको, खुट्टा पसार्न लगाई दुबै खुट्टामा बुटले कुल्चदै शरिरका विभिन्न भागमा जथाभावी कुटपिट गर्नुको साथै र खुट्टाको पैतालामा लाठीले कुटपिट गरेको दिपकले बताउनु भयो । कुटपिटका कारण उभिन र हिडँडुल गर्न नसक्दा बोकेर बाहिर भित्र लाने गरेको पीडितका बुवा हिरालाल यादवले बताउनु भयो ।
यादवको नेपालगञ्ज नर्सिङ होममा पुस १७ गते र पुनः पुस २१ गते उपचार गरिएको पीडितका बुवाले बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख चन्द्रकान्त चापागाईले उजुरी दर्ता भएको र घटनाको विषयमा अनुसन्धान भईरहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर वलीले कुटपिट गर्ने प्रहरी जिल्ला प्रहरी कार्यालयमा काजमा रहेकोले रमाना दिएर सुर्खेत पठाइएको बताउनु भयो । उहाँले यातना दिने प्रहरीको नाम खुलाउनु भएन ।

अन्य

भिडियो