जिल्लामा विकास निर्माण क्षेत्रमा काम गर्ने महिला मजदुरले पुरुष मजदुर सरह समान ज्याला नपाएको गुनासो गरेका छन् ।
त्रिपुरासुन्दरी नपा–१ मा रहेको सेजकुलो सिँचाई आयोजनामा कार्यरत् महिला मजदुरहरूले समान ज्याला नपाएको गुनासो गरेका हुन् ।
सिँचाई आयोजनामा मजदुरी गर्नुभएकी त्रिपुरासुन्दरी नपा–१ बस्ने चाउरी सार्कीले महिलाहरूको र पुरुषहरूको काम एउटै भएपनि ज्याला दिँदा भने उपभोक्ता समितिका पदाधिकारी र ठेकेदारले पुरूषको तुलनामा महिलाहरूलाई कम ज्याला दिने गरेको गुनासो गर्नुभयो ।
‘काम सुरू गर्दा सबैलाई काम गरेको रकम बराबर हुन्छ भनियो तर काम गरिसकेपछि तिमीहरू पुरुष सरह काम गर्न सक्दैनौ भनेर निर्माण उपभोक्ता समितीका सचिव राजिव बुढाले पुरूष मजदुरलाई दिनको एक हजार रुपियाँ र महिला मजदुरहरूलाई ८ सय रुपियाँका दरले ज्याला बाँड्नुभयो । यो त अन्याय भएन र ?’ सार्कीले प्रति प्रश्न गर्नु भयो ।
त्यस्तै निर्माण उपभोक्ता समितिकी कोषाध्यक्ष जानुका कठायतले ज्याला दिँदा महिला पुरुष नभनेर समान रूपले ज्याला उपलब्ध गराउनुपर्ने भनेर आफुले बताउँदै आएपनि सचिवले भने ज्यालामा विभेद गरेको बताउनु भयो । कठायतले भन्नुभयो–‘यो योजनामा मात्रै होइन हरेक विकास निर्माणमा ठेकदार र उपभोक्ता समितिका पदाधिकारीहरुले समान कामको समान ज्यालामा विभेद गर्ने गरेका छन, यसको बारेमा अब कानुनी रूपमा विरोध गनुपर्ने अवस्था आएको छ ।’
पछिल्लो समयमा विकास निर्माणका योजनामा मात्रै नभई होइन गाडीबाट सामान बोक्ने काममा पनि गाडी मालिक र सामान धनीहरूले ज्याला दिँदा असमान व्यवहार गर्ने गरेको श्रमिक महिलाहरूको गुनासो छ ।
डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएसंगै जिल्लाका विभिन्न स्थानहरूमा विकास निर्माण तथा व्यापारिक सामान एक ठाउँबाट अर्का ठाउँमा बोके गरेवापत् श्रमिक महिलाहरूले पाउने ज्यालामा विभेद हुने गरेको महिला मजदुरहरूको गुनासो छ ।
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ र ६ मा पर्ने खदाङ्गस्थित हरियापानी, वडा नम्बर १ मा पर्ने छलगाडखोला र त्रिपुराकोटकै ठुलीभेरी नदीमाथिको पुलमा काम गर्नेमा श्रमिक महिलाको संख्या धेरै छ ।
त्रिपुराकोटकोट बगरस्थित ठुलीभेरी नदीमाथि सामान बोक्दै आउनुभएकी धनचन्दा सार्कीले समान प्रकारको सामान पुरुष र महिला मजदुरले बोक्दा पनि गाडी मालिक र व्यापारीले असमान ज्याला दिने बताउनुभयो ।
समान काममा समान ज्याला पाउनुपर्ने भन्दै आफुहरूले केही दिन अघि त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख चन्द्राकुमारी बुढालाई निवेदन समेत दिएको बताउनुभयो ।
न्यायिक समितिकी संयोजक बुढाले निवेदन आफुलाई प्राप्त भईसकेको बताउँदै नगरपालिकाले गाडीधनी र व्यापारीहरूसंग छलफल गरी समान कामको समान ज्याला पाउने वातावरण तयार गरिने बताउनुभयो ।
