पुस्तौँदेखि घरवारविहिन भएका मंगलसेन नपा –५ का पाँच वादी परिवारलाई मङ्गलसेन नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको छ ।
मंगलसेन नगरपालिका – ५ स्थित भैसेडाँडामा रहेको १० लाख रूपियाँ बराबरको १५ आना जग्गा खरिद गरेर पाँच वादी परिवारलाई तीन आनाका दरले लालपुर्जासहित हस्तान्तरण गरेको हो ।
घरवारविहिन प्रेम वादी, रेवन्ता वादी, सुपारी वादी, मामिता वादी र टंकी वादीलाई पुस १५ गते जग्गाधनी लालपुर्जा हस्तान्तरण गरिएको नगरपालिकाका सूचना अधिकारी नरेशबहादुर कठायतले बताउनु भयो ।
नगरपालिकाले जग्गा उपलब्ध गराएको भए पनि आर्थिक अवस्था कमजोर भएका कारण आफूहरूलाई घर बनाउन समस्या भएको ममता वादीले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘जग्गाधनी प्रमाणपुर्जा पाउदा खुसी लागेको छ । सानो कटेरो बनाउन सके राम्रै हुन्थ्यो । तर, घर बनाउन पैशा छैन् ।’
जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका टंक वादीले घर बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने आशा राखेको बताउनु भयो ।
उहाँले भन्नु भयो –‘अर्काका गोठ छाना जान्या दुख छुट्न्या भयो । एक कटेरो कसैले बनाइदिया आफ्नाई ठाउँमा सुत्न पाइन्या छियो ।’
न्यून आय भएका वादी परिवारलाई न्यूनतम आधार निर्माणका लागि जग्गासहित आगामी दिनमा घर निर्माण गर्ने योजना रहेको नगर प्रमुख पदमबहादुर बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो – ‘ पाँच वादी परिवारको घरजग्गा नभएका कारण उनीहरू वषौँदेखि मंगलसेन बजार र गाउँवस्तीमा अन्न मागरे गुजारा चलाउदै आएका थिए । उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरेका छौँ । उनीहरूलाई आत्मनिर्भर बनाउन आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने ओजना छ ।’

