INSEC Online

📅 २०८३ जेष्ठ २१

दुई हप्ता लामो शीतलहरको कारण पर्सागढी नगरपालिकामा हालसम्म पाँचजना वृद्धको मृत्यु

अत्याधिक चिसोको कारण पुस ८ गते पर्सागढी–४ सबैयाटाँडी निवासी ६७ वर्षीय बुधन हजरा दुसाध र सबैया निवासी ७८ वर्षीया कोकनीदेवी थरुनीको मृत्यु भएको थियो ।

शीतलहर चलेपछि पुस ११ गते सोही वडा परशुरामपुर गाउँ निवासी ७३ वर्षीय बुधु देवान र भडाहाटोल निवासी भगौरीदेवी मुसहरिनको पनि कठ्याङ्ग्रिएर मृत्यु भएको उनीहरूका परिवारजनले जनाएका छन् । पुस १३ गते वडा नं. ४ कै बर्वाटाँडी निवासी ७५ वर्षीय विक्रम सहनी मलाहाको पनि मृत्यु भएको थियो । मृत्यु हुनेहरूमध्ये देवान र मलाहाको चिसो लागेपछि उपचारको क्रममा नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

मृतक पाँचैजना एउटै वडाको रहेको र अतिविपन्न परिवारको भएको कारण ओढ्ने, ओछ्याउने र लगाउने कपडाको अभावमा लगातारको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको पर्सागढी नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं. ४ का अध्यक्ष समसुद्दीन शाह देवानले बताउनु भयो ।

पीडित परिवारले राहत नपाएको गुनासो

चिसोको कारण मृत्यु भएका परिवारका सदस्यहरूले राहत नपाएको गुनासो गरेका छन् । स्व.बुधन हजरा दुसाधकी पत्नी ६२ वर्षीया चाँदज्योति दुसाधले पति बितेको एक हप्ता हुन लाग्दा पनि कतैबाट राहत नपाएको गुनासो गर्नुभएको छ । वहाँको पति बुधनले धेरै वर्ष सबैया गाउँको चौकीदारी गर्दै सेवा ‍ पुर्याउनु भएको थियो । वहाँको चिसोले ज्यान जाँदासमेत कसैले चासो नदिएको चाँदज्योतिले गुनासो गुनासो गर्नुभयो ।

चिसोको कारण मृत्यु हुन पुगेका विक्रम सहनी मलाहाका छोरा भगवान सहनीले पनि कुनै निकायबाट सहयोग नपाएको गुनासो गर्नु भएको छ ।

दुई साता लामो शीतलहर तथा चिसोले जनजीवन कष्टकर हुँदा पनि सो क्षेत्रका विपन्नहरूलाई दाउरा तथा न्यानो कपडा कसैले वितरण नगरेको पर्सागढी–४ की कान्तिदेवी महतो धागडले गुनासो गर्नु भएको छ ।

पर्सागढी नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समसुद्दीन शाह देवानले चिसोको कारण मृत्यु भएकाहरूको परिवारजनलाई राहत उपलब्ध गराउने र एक–दुई दिनभित्रै प्रत्येक वडामा दाउरा वितरण गर्नुका साथै अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गर्ने तयारी नगरपालिकाले गरिरहेको बताउनु भयो ।

 

अन्य

भिडियो