दशरथचन्द नगरपालिका–१० को तिर र खडेनी टोलमा १ सय २० घर परिवार बस्दै आएका छन् । जिल्ला सदरमुकामको नगरपालिकामा पर्ने यो वडामा धेरै माथिको बडिपातलबाट खानेपानी ल्याइएको छ ।
करिब ५ किलोमिटर टाढाबाट ल्याइएको पानी नियमित आउँदैन । जङ्गल र भिरको बिचबाट ल्याइएको पानी बिग्रियो भने बनाउनसमेत महिनौँ लाग्ने गरेको छ ।
जसका कारण तिर र खडेनी गाउँका बासीन्दाहरू महाकाली नदीको फोहोर पानी पिउन बाध्य छन् । उनीहरूको धारामा पानी नआएको दिन नदी जानुबाहेक अन्य उपाए हुँदैन । नुहाउन, कपडा धुन, गाइभैँसीलाई खुवाउनको लागि उनीहरू दैनिक नदीमा जानुपर्ने हुन्छ ।
सोही नदीको पानी खान योग्य छैन । धेरै दुषित छ भनेर त्यहाँका नागरिकहरूलाइै थाहा नभएको पनि हैन । उक्त नदीको पानी प्राविधिकहरूको टोलीले परीक्षण समेत गरेको छ । परीक्षणमा पानी खान योग्य नभएको पाइएको छ ।
पानीमा टिडीएस (धमीलोपना) ३ सय ५५ देखिएको थियो भने पिएच (अम्लीयपना) साढे ४ देखिएको थियो ।
५० देखि डेढ सय सम्म टिडीएस भएमा पानी खान योग्य हुन्छ । पिएच पनि ७ भएपछि मात्र पानी खानको लागि योग्य मानिन्छ ।
तिर र खडेनीका बासीन्दाले खानको लागि प्रयोग गर्ने महाकालीको पानी खान अयोग्य भएपनि उनीहरू पानीको अभावले यहि पानी पिउन बाध्य छन् ।
पानी खान योग्य छैन भनेर थाहा हुँदाहुँदै पनि आफूहरू महाकालीको दुषित पानीको प्रयोग गरिरहेको स्थानीय प्रतापसिंह बुडालले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘हाम्रो गाउँमा आउने पानी एउटा संस्थाले बनाएको हो । तर, मुहान टाढा छ । नियमित आउँदैन । अरू नजिक मुहानै छैनन् । सबै सुके महाकालीको पानी नखाइ भएन गर्नु के ?’
धेरै जसो नदीकै पानी प्रयोग गर्नुपर्ने अवस्था भएको उनले बताउनुभयो । पहिलेबाटै खानेपानीको समस्या भएको बताउँदै उनले भने ‘हामीलाई त सहयोग पनि कसैले गर्दैन । फोहोर पानीले ज्यानै लिन्छ होला हाम्रो त ।’
खान, नुहाउनको लागि दैनीक जसो नदीकै पानी प्रयोग गर्ने गरेका स्थानीय शान्ति बुडालले बताउनुभयो । घरमा आउने मुहानको पानी प्रयाप्त मात्रामा नपुग्दा नदीको पानी खानुपर्ने अवस्था रहेको उनले बताउनुभयो ।
नदी छेउछाउमा आफूहरूको बारी भएकोले काम गर्दै नदीको पानी पिउँदै महिला दिदीबहिनीहरूका दिनहरू बित्ने गरेका उनले सुनाइन् ।
विज्ञ प्राविधिकहरूको टोलीले पानीको परीक्षण गर्दा खान योग्य नभएको ग्रामीण विकास एवम् वातावरण व्यवस्थापन समाज (रूडेस) संस्थाका कार्यकारी निर्देशक गोवीन्दराज जोशीले बताउनुभयो ।
महाकाली नदीको पानीलाई सिटीजन साइन्स अन्र्तगत बेला–बेलामा चेक गर्ने गरेको उनले बताउनुभयो । परीक्षण गर्दा धमीलोपना र अम्लियपना बढी देखिएको बताउँदै उनले भने–‘त्यसैले खान योग्य छैन यो पानी, स्वास्थ्यमा धेरै असर गर्छ । तर, गाउँमा पानीमा मुहानहरू नभएपछि यहाँका बासिन्दाहरू दुषित पानी खाइरहेका छन् ।’
अहिले पानी परीक्षण गर्ने उपकरण भएपछि स्थानीय महिलाहरूको समूहले पनि बेलाबेलामा पानी परिक्षण गर्ने गरेको छ ।
पानी खान अयोग्य भएको आफैँलाई थाहा हुँदा समेत दुषित पानी पिउनको विकल्प नभएको स्थानीय हीरा बुढालले बताउनुभयो ।

