INSEC Online

📅 २०८३ जेष्ठ २१

गिरफ्तार यौन दुर्व्यवहारका आरोपित छुटाउन कार्यालय बन्द

यौन दुर्व्यवहारको आरोपमा गिरफ्तार शम्भुनाथ नपा–१२ का वडा अध्यक्ष ४५ वर्षीय लक्ष्मी साहलाई छुटाउन पुस २ गतेदेखि शम्भुनाथ नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प पारिएको छ ।

अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयको थुनामा रहेका वडा अध्यक्ष साहको रिहाइको एक सुत्रीय माग राखी नगरपालिका कार्यालय, मातहतका १२ ओटै वडा कार्यालयहरू र विषयगत कार्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएको नगर प्रमुख योगेन्द्रप्रसाद चौधरीले बताउनु भयो ।

‘कपोलकल्पित झुठा उजुरी दर्ता गरी वडा अध्यक्षलाई गिरफ्तार गरेको विरोधमा उहाँलाई रिहा नगरेसम्म नगरपालिका र मातहतका सबै कार्यालयहरू बन्द रहनेछ ।’–नगर प्रमुख चौधरीले भन्नुभयो–‘गैरकानुनी कार्यमा सहयोग नगरेको रिसइबीले महिलाले वडा अध्यक्ष साहविरूद्ध झुठो उजुरी दर्ता गराएर चरित्र हत्या गरेकी छिन् । वडा अध्यक्ष साह स–सम्मान रिहा नभएसम्म कार्यालयका सम्पूर्ण कामकाज ठप्प रहने छ ।’

यौन दुर्व्यवहारको आरोपमा जिल्ला प्रहरी कार्यालयले वडा अध्यक्ष साहसहित सोही ठाउँका ४० वर्षीय अनीलकुमार राय अमात र ३५ वर्षीय नसिम मियाँलाई गिरफ्तार गरी मङ्सिर २५ गते जबरजस्ती करणी उद्योगको उजुरी दर्ता गरेर कारवाही अघि बढाएको छ ।

गाउँमा उत्पन्न विवाद पञ्चायती (छलफल) गरी मिलाइ दिने आश्वासन दिएर गत मङ्सिर १२ गते ३४ वर्षीया महिलालाई यौन  दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष साह, राय र मियाँलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको एसपी कृष्ण प्रसाईले बताउनु भयो ।

पीडितका १६ वर्षीय छोरा र २३ वर्षीया विवाहिता महिलाको विवाह गर्नुपर्ने गाउँलेको दबाब अस्विकार गर्दै आएकोमा आरोपितहरूले छलफल गरेर मिलाइ दिने भन्दै एकान्त चौरमा लगी बलात्कार प्रयास गरेको पीडितले आरोप लगाउनु भएको छ ।

एक छोरीकी आमासँग आफ्नो छोराको विवाह गर्नैपर्ने दबाब परेकोमा सो समस्या मिलाइ दिने लोभ देखाई जबरजस्ती सम्बन्ध राख्न खोजेपछि प्रतिकार गरेर भागेको पीडितले बताउनु भएको छ् ।

नेपाली कांग्रेस सप्तरीका सभापति दिनेश यादवले राजनीतिक प्रतिशोधको भावनाबाट नियोजित ढङ्गले महिला परिचालन गरी वडा अध्यक्ष साहलाई झुठो मुद्दामा फसाइएको दावी गर्नुभएको छ । प्रहरीले सत्यतथ्य पत्ता नलगाई मुद्दा दर्ता गर्नुलाई उहाँले गैरजिम्मेवारपूर्ण कार्य भन्नु भएको छ ।

नगरपालिका बन्द घोषणाले कर्मचारीहरू हाजिर गरेर घर फर्किएका छन् । शम्भुनाथ नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितकालिन बन्दले कार्यालयबाट प्रवाह हुँदै आएका सबै सेवाहरू ठप्प भएको छ ।

प्रहरी अनुसन्धान र अदालती प्रकृयालाई नै प्रभाव पार्ने गरी भएको कार्यालय बन्दले सेवाग्राहीहरू मर्कामा परेको शम्भुनाथ नगरपालिकाका अनील भगतले बताउनु भएको छ ।

photo20191218saptari (1)

photo20191218saptari (2)

photo20191218saptari (3)

अन्य

भिडियो