INSEC Online

📅 २०८३ जेष्ठ २१

कर्णाली प्रदेश सरकारद्वारा छोरी बैङ्क खाता शुभारम्भ

कर्णाली प्रदेश सरकारले पुस १ गतेदेखि छोरी बैङ्क खाता सुरू गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार यस प्रदेशमा जन्मने हरेक छोरीका लागि छोरी बैङ्क खाता सुरू गरेको कर्णाली प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

यस वर्ष साउन महिना पछि जन्मिएका कालिकोट खाडाचक्र नगरपालिकाका दुईजना बालिकाहरूको पुस १ गते बैङ्क खाता खोलेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छोरी बैङ्क खाता शुभारम्भ गर्नु भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताउनुभयो ।

कर्णालीमा बढ्दो भ्रुण हत्या तथा पारिवारिक हिंसा रोक्न, छोरी माथि हुने विभेदको अन्त्य र शिक्षामा छोरीको पहुँच अभिबृद्धि गर्नका लागि सो खाता सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्री परिषद्का सूचना अधिकारी केशव उपाध्यायले बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले छोरी बैङक खाताका लागि ७ करोड रुपियाँ बराबरको बजेट विनियोजन गरेको र सामाजिक विकास मन्त्रालयमार्फत् सो रकम उपलब्ध गराइने सूचना अधिकारी उपाध्यायले जानकारी दिनुभयो ।

छोरी बैङ्क खाता कार्यक्रम अन्तर्गत ०७६ साउन १ गतेपछि जन्मिएका हरेक छोरीको खातामा १ हजार रुपियाँ र २० वर्षसम्म मासिक ५ सय रुपियाँका दरले छोरी बैङ्क खातामा जम्मा हुने रकम र ब्याज सहित २ लाख रुपियाँ छोरीहरूले पाउने छन् ।

छोरीको उमेर २० वर्ष नपुग्दै, माध्यमिक तहको अध्ययन पुरा नगरेमा र २० वर्ष नपुग्दै विवाह गरेमा भने कार्यक्रम अन्तर्गत पाउनुपर्ने रकम नपाउने मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

अन्य

भिडियो