INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्पले भत्केको विद्यालय भवन बनेन, अझै टहरोमै पढाइ

कालिका गाउँपालिका–५ स्थित निलकण्ठ मावि भवन ०७२ को भूकम्पका कारण भत्केको चार वर्ष बित्दा समेत पुनर्निर्माण हुन नसक्दा पठनपाठनमा समस्या परेको छ । सुरक्षित विद्यालय भवन नबन्दा विद्यार्थीहरू टिनको छाप्रोमा पढ्न बाध्य भएका छन् ।

चीन सरकारको सहयोगमा निर्माण हुने भनिएको भवन निर्माणमा ढिलाइ भएकाले ठूलो समस्या परेको निलकण्ठ नमुना माविका प्रधानाध्यापक नारायणप्रसाद देवकोटाले बताउनुभयो ।

विद्यालयमा १ देखि १२ कक्षासम्म गरी कुल ३ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् । चीन सरकारसँग निर्माण गर्ने सहमति भएकाले अन्य निकायले स्थायी संरचना निर्माणका लागि सरकारी अनुमति नपाउने भएपछि विद्यालय पुनर्निर्माणको काममा ढिलाइ भएको प्रअ देवकोटाले बताउनुभयो ।

विद्यालय भवन नबन्दा असुरक्षित भवनमा जोखिमपूर्ण तवरले पठनपाठन गर्नुपर्ने बाध्यता छ । ‘अझै टिनको छाप्रोमा (अस्थायी सिकाइ केन्द्र) मा पढाइ हुन्छ ।’–शिक्षक मेदन देवकोटाले भन्नुभयो–‘शिक्षणका लागि भवन अभावले समस्या भयो ।’

गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था पनि उस्तै छ ।

यो विद्यालयमा ८ कक्षासम्म पढाइ हुन्छ । विद्यालयको तीनकोठे पक्की भवन छ । जसमा एउटामा कार्यालय र एउटामा पुस्तकालय सञ्चालित छ । बाँकी एउटा मात्र कक्षामा कोठामा पढाइ हुन्छ ।

अरु कक्षाको पढाइ जस्ताको टहरामा भइरहेको छ । यो विद्यालय तीन वर्षअघि चीन सरकारले निर्माण गर्नका लागि जिम्मा लिए विद्यालय निर्माणमा ढिलाइ भइरहेको छ । जस्तापाता कतिबेला हुरीले उढाउँछ भन्ने त्रासमा पठनपाठन गर्नुपर्ने शिक्षक तथा विद्यार्थीको भनाइ छ ।

जग्गाको अभाव र जोखिममा परेर बस्ती विस्थापित भएका गरी सातओटा र चीन सरकारले जिम्मा लिएका तीन ओटा विद्यालयको निर्माण सुरू नभएको शिक्षा विकास तथा समन्वय एकाइ रसुवाले जनाएको छ ।

तीन ओटा विद्यालय चीन सरकारले बनाउने भनेर जिम्मेवारी लिएको थियो । केही विद्यालयमा भने भवन निर्माणका लागि कुनै निकाय नै पुगेको छैन । कतिपय विद्यालयमा जग्गाको अभाव देखिन्छ ।

समयमै विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरूले सुरक्षित विद्यालयमा पढ्न पाएनन् । गर्मीको चर्को घाम र कठ्याङ्ग्रिदो जाडोमा विद्यार्थीहरु सहज रूपमा पठनपाठन गर्न समस्या छ ।

त्यसैगरी कालिका गाउँपालिका–१ को अनन्त स्मृति आधारभुत विद्यालय, उत्तरगया गाउँपालिका–१ को तिरू आधारभूत, कालिका आधारभूत, बालोदय आधारभूत, करूमर्‍याङ आधारभूत, भूमेदेवी आधारभूत र आमाछोदिङमो गाउँपालिका–५ स्थित पाजुङ आधारभूत विद्यालय भूकम्पका कारण क्षति भएपनि अझै पुनर्निर्माण नहुँदा विद्यार्थी समस्यामा परेका छन् ।

photo20191216rasuwa

अन्य

भिडियो