INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार सन्तोष काफ्लेमाथि आक्रमण, आँखामा चोट

धरान उपमहानगरपालिका–१२ का ३८ वर्षीय पत्रकार सन्तोष काफ्लेमाथि धरानमा मङ्सिर २६ गते आक्रमण भएको छ ।

सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूको सङ्र्घष समितिका सचिवसहित केही व्यक्तिले आक्रमण गरेका हुन् ।

आक्रमणबाट उहाँको आँखामा गहिरो चोट र नाकमा सामान्य चोट लागेको छ । पीडित सङ्र्घष समितिका सचिव नरेश साही ठकुरी, दीपक राई र एक महिलाले हातपात गरेको पीडित पत्रकार काफ्लेले जानकारी दिए ।

मङ्सिर २६ गते ११ बजे निधारित गरिएको कार्यक्रममा ढिलो आएको भन्दै काफ्लेमाथि हातपात गरेको कार्यक्रमको भिडियो खिचिरहेका अर्का पत्रकार रुद्र घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘किन ढिलो आएको भन्दै विवाद गरेर एक्कासी आक्रमण भयो ।’ पत्रकार काफ्ले नेपाल पत्रकार महासङ्घ सुनसरीका उपाध्यक्ष र न्यूज २४ टेलिभिजनका पूर्वाञ्चल प्रमुख हुनुहुन्छ ।

आक्रमणमा संलग्नसहित इलाका प्रहरी कार्यालय धरानले १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान थालेको छ ।

‘आक्रमणमा संलग्नसहित सबैलाई गिरफ्तार गरिएको छ ।’–इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले भन्नुभयो–‘सोधपुछ गरेर आक्रमणकारीलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा मुद्दा चलाउँछौँ ।’

पत्रकार काफ्लेको उपचार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ । नेपाल पत्रकार महासङ्घ सुनसरीले घटनाको घोर भत्र्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको छ ।

अन्य

भिडियो