पुनःनिर्माणको काममा ढिलाइ भएपछि गुल्मीको सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकका विद्यार्थीहरू भत्किएकै विद्यालयमा अध्ययन गर्न थालेका छन् ।
गत साउन ६ गते अविरल वर्षासँगै आएको पहिरोले लुम्पेकको सिद्ध आधारभुत प्राविको चार कोठे भवनलाई बगाएको थियो भने अर्को चार कोठे भवनको माथिल्लो तल्ला पुरिएको थियो ।
पुनःस्थापनाको काममा ढिलाइ भएकाले विद्यार्थीहरूलाई भत्किएकै विद्यालयमा पठनपाठन गराउन बाध्य भएको विद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामु बताउनुभयो ।
विद्यालयको तलबाट अझै पनि सुख्खा पहिरो गइरहेको छ भने जमीन चर्कने र भत्कने क्रम रोकिएको छैन ।
पहिरोपछि पनि एक दर्जन बढी घरगोठ सुख्खा पहिरोका कारण भत्किए । विद्यालयमा झ्याल ढोकामा क्षति पुगेको छ ।
पहिरोले विद्यालयसँगै फर्निचर र शैक्षिक सामग्री बगेकाले विद्यालयलाई ठूलो क्षति पुगेको तरामुले बताउनुभयो ।
उहाँले गाउँपालिकामा विद्यालयको अवस्थाको बारेमा थप जानकारी गराएकाले सहयोगको आश्वासन पाएको बताउनुभयो ।
पहिरो गएपछि बढी प्रभावित बनेका लुम्पेकको सिङ्दी गाउँका विद्यार्थीहरूले दुई महिना रूख मुनी बसेर अध्ययन गरे ।
पहिरोपीडित ६१ परिवारहरूलाई सत्यवति गाउँपालिका–१ अस्लेवाको देउडाँडामा अस्थायी आवास निर्माण गरेर व्यावस्थापन गरिएको थियो ।
पुनःस्थापना र पुनःनिर्माणको काममा ढिलाइ भएका कारण विस्थापित परिवार आफ्नै गाउँ फर्किए । अभिभावकसँगै बालबालिकाहरू पनि गाउँ फर्किएकाले भत्किएकै विद्यालयमा पठनपाठन गर्नुपर्ने अवस्था आएको वडा सदस्य अर्जुन तरामुले बताउनुभयो ।
उहाँले अहिलेसम्म पुनःस्थापनाको ठोस योजना निर्माण नभएकाले पहिरो प्रभावित परिवारले भत्किएका घर–गोठहरूको पुनःनिर्माण, खेतबारीको संरक्षणलगायतका काम गर्न थालेको बताउनुभयो ।
जोखिम कायम नै भएकाले अझै पनि बालबालिका ढुक्क भएर पढ्न सक्ने अवस्थामा नरहेको तरामुले बताउनुभयो ।
अहिले पहिरोले पुरेको बिद्यालय प्राङगण सफा गरिएको छ । पहिरो अगाडी सिद्ध आधारभुत प्राविमा ५१ जना बिद्यार्थीले अध्ययन गर्दै आएका थिए ।
अहिले ३६ जना विद्यालय आउँछन् । पहिरोपछि १०-१५ जना विद्यार्थी घरमा बस्नै समस्या भएपछि अभिभावकले जिल्ला बाहिर लगेर भर्ना गरेको शिक्षक दुर्गाबहादुर तरामुले बताउनु भयो ।
गत ६ साउनमा पहिरोका कारण लुम्पेकका झण्डै तीन सय परिवार विस्थापित भए । झण्डै एक महिना विस्थापित परिवार विद्यालयमै बसेका थिए ।
ठुलोलुम्पेकको सात स्थानमा अस्थायी शिविर सञ्चालन गरेर विस्थापितको गासबासको व्यवस्था भएको थियो ।
जसका कारण राज्यसँगै कैयौ सङ्घसंस्थाले नगद र खाद्यन्य सहित जिन्सी सहयोग गरेका थिए । नगद रकम वडा र गाउँपालिकाको खातामा छ भने खाद्यन्य स्थानीय स्तरमै भण्डारण गरिएको विपत् व्यावस्थापन तथा राहत व्यावस्थापन समिति सदस्य जितु तरामुले बताउनुभयो ।
उहाँका अनुसार त्यो समयमा करिब ४ सय क्विन्टल चामम र दाल तथा अन्य उपभोग्य वस्तुहरू सङ्कलन भएको थियो ।
अहिले विस्थापित धेरै घर गएका छन् । शिविर सञ्चालन छैन । करिव १ सय क्विन्टल चामल अझै स्टक भएकाले कुहिन थालेको समिति सदस्य तरामुले जानकारी दिनुभयो ।