चार महिनादेखि दुधपोखरी गाउँपालिकाको स्वास्थ्य शाखामा कर्मचारी नहुँदा सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनुपरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालका अनुसार २३ जना कर्मचारीको दरवन्दी आवश्यक पर्नेमा हाल चार जनाले मात्र काम गर्नाले पर्याप्त सेवा प्रदान गर्न सकिएको छैन ।
समायोजनमा दुर्गम भनेर कर्मचारीले नरोजेकाले अहिले समस्या भएको प्रमुख प्रशासकीय अधिकृत खनालको भनाइ छ ।
पर्याप्त कर्मचारी नहुँदा बालबालिकाको लागि खोप सेवा र गर्भवतिको नियमित परीक्षण सेवा प्रभावित भएको गाउँपलिकाका उपाध्यक्ष कमलप्रसाद धितालले बताउनुभएको छ ।
दुधपोखरी गाउँपालिका–३ का सतीमाया तामाङका अनुसार सामान्य रुघाखोकी र ज्वरो आउँदा समेत तीन घण्टाको बाटो धाएर गाउँपालिकाको कार्यलय आउनु पर्ने अवस्था छ ।
त्यसैगरी दुधपोखरी गाउँपालिका–नं २ की शोभा तमाङका अनुसार खोप लगाउनको लागि बालबलिकालाई २ घण्टा ३० मिनेटको बाटो धाएर गाउँपालिकाको कार्यलय नजिकको प्राथमिक स्वस्थ्य केन्द्रमा जानुपर्ने भएको बताउनुभयो ।
स्वास्थ्य कर्मचारी नहुँदा सेवाग्राहीलाई शारीरिक र आर्थिक नोक्सानी भएको दुधपोखरी गाउँपालिका–२ का धनबहादुर तमाङले गुनासो गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङले दुर्गम भएकाले सङ्घ र प्रदेश सरकारले हेला गरेको बताउनुभयो ।
स्वास्थ्य कर्मीको अभावलाई अबको १५ दिन भित्रै समाधान गर्ने गुरुङको भनाइ छ । करारमा भर्नाको लागि सूचना जारी गरी कर्मचारीको अभाव हुन नदिने विश्वास अध्यक्ष गुरुङले दिलाउनुभएको छ ।