१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बाल सुधार गृहमा रहेका १६ वर्षीय बालकलाई जिल्ला अदालत ललितपुरको बाल इजलासले मङ्सिर १८ गते १२ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ ।
आरोपित बालक भएकाले अपराध संहिता २०७४ को दफा २१९ (ख) बमोजिम आधा सजाय निर्धारण गरेको अदालतले जनाएको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कसुर ठहर गर्दैे उक्त फैसला सुनाएको जिल्ला अदालत ललितपुरका श्रेष्तेदार नगेन्द्रकुमार कालाखेतीले बताउनु भयो ।
पीडित बालिकालाई आरोपितले गत जेठ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १६ गते महानगरीय प्रहरी परिसर, जावलाखेलमा उजुरी दिएको थियो ।
प्रहरीले आरोपितलाई जेठ १६ गते नै गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको थियो ।