INSEC Online

📅 २०८३ जेष्ठ २१

पाँच महिनासम्म पनि राहत पाएनन् बाढी पीडितले

बाढीले विनाश गरेको पाँच महिना बितिसक्दा पनि कुनै पक्षबाट सहयोग नपाउँदा मुड्केचुला गाउँपालिका–१ कौशिलाखोलाका बाढी पीडितहरू यतिबेला समस्यामा छन् ।

स्थानीय तथा कर्णाली प्रदेश सरकारले उपलब्ध गराउने भनिएको राहत नपाएपछि उनीहरू समस्यामा परेका हुन् । ०७६ असार २८ गते कौशिलाखोलामा बाढी आउँदा मुड्केचुला–१ औल गाउँका ११ जनाको मृत्यु भएको थियो ।

घटनापछि ०७६ असार ३१ मा बाढीग्रस्त क्षेत्रको अवलोकनका साथै पीडितहरूको अवस्था बुझ्न कर्णाली प्रदेश सरकारका उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढा र प्रदेशसभा सदस्यद्वय वीरबहादुर शाही र बदमीक्वारी बुढा घटनास्थल पुग्नुभएको थियो ।

आफ्नै जिल्लाका मन्त्रीसहित सांसद गाउँमा पुगेपछि राहत पाउने आशामा रहेका पीडित घटना भएको पाँच महिना बितिसक्दा पनि कुनै पक्षबाट सहयोग नपाएपछि निराश भएको बताउँछन् ।

घटनास्थल अनुुगमन गर्न पुुगेका मन्त्री बुढाले बाढीपिडितका परिवारलाई तत्कालको लागि एक बोरा  चामल, एकसरो लुगा, सेतो कपडाको पाल र भान्साको लागि आवश्यक पर्ने भाँडाकुडा समेत वितरण गरेर बाँकी व्यवस्थापनको लागि प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिएको पीडितहरूको भनाइ छ ।

बाढीमा परेर ज्यान गुमाउने १२ वर्षीया सारिका बोहरा, ४१ वर्षीय धर्मराज बोहरा, १३ वर्षीया सोना सार्की र २३ वर्षीया चन्द्रकुमारी सार्कीको खोजतलासको क्रममा शव भेटिएको भएपनि १२ वर्षीया धनरुपा बोहरा, १५ वर्षीया बृहस्पति बोहरा, २३ वर्षीय पन्चे सार्की, २३ वर्षीया साउनी विक, ४२ वर्षीया रंगी बोहरा, ४२ वर्षीय कालिबहादुर बोहरा र ३५ वर्षीय लवकुमार रोकायको शव अझै फेला नपरेको स्थानीय पुतली बोहरा बताउनुहुन्छ ।

जिल्ला प्रशासन कार्यालय, डोल्पाले घटना लगत्तै बाढीमा परेर मृत्यु भई शव भेटिएका चारजनाका परिवारहरूलाई १ लाख रुपियाँका दरले राहत उपलब्ध गराए पनि सँगै ज्यान गुमाएका तर शव फेला नपरेका सातजना मृतकका आफन्तले अझै राहत पाउन सकेका छैनन् ।

बाढीले आफन्त र खेतबारी समेत बगाएपछि बिचल्लीमा परेका बाढीपीडित अहिले आफन्तको घरमा शरण लिएर कष्टपुर्ण दैनिकी चलाउँदै आएका छन् ।

बाढीले घर बगाएपछि प्रदेश सरकारले उपलब्ध गराएको कपडाको सेतो पालमा कष्टपुर्ण रात बिताउनु परेको कर्णलाल बोहराले बताउनुुभयो ।

जाडो सुरू भएपछि पालको बसाई कष्टकर भएको र घरमा खानेकुराको पनि समस्या भएको बोहराले बताउनुुभयो ।

वडाअध्यक्ष बोहराले आफु पछिल्लो पटक कात्तिक २९ गते पुनः राहतका लागि आग्रह गर्दै सुर्खेतमा रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय पुुगेको बताउनुुभयो ।

प्रदेश सरकारले बाढीबाट विस्थापित ११ घरपरिवारलाई बसोबासको व्यवस्था, बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था तथा तत्कालका लागि खाद्यान्नको व्यवस्था गर्ने भनेर घटनास्थल पुुगेका सरकारका प्रतिनिधिले बताएपनि सो भनाई आश्वासनमै सिमित भएको बोहराले गुनासो गर्नुभयो ।

मुड्केचुला गाउँपालिका–१ का वडा अध्यक्ष भानुभक्त बोहरा स्वयम् पनि बाढीपीडित हुनुहुन्छ । बाढीले घरखेत बगाएपछि पीडित बनेका बोहरा सहयोगको लागि के कसरी राहत जुटाउन सकिन्छ भनेर जिल्ला हँुदै पटकपटक प्रदेश सरकार समक्ष आग्रह गरेपनि कुनै पक्षबाट सुनुवाई नभएको गुनासो गर्नुहुन्छ ।

राहत उपलब्ध गराउँछु भनेको पाँच महिना बितिसक्दा पनि राहत नपाउनु दुखद् कुरा भएको र पीडितका दुःखप्रति प्रदेश सरकार उदासिन भएको देखिएको वडा अध्यक्ष बोहराले बताउनुुभयो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले मत्यु भएर शव भेटिएका पीडित परिवारलाई १ लाख रुपियाँका दरले राहत उपलब्ध गराइएको र बाँकी सात घरपरिवारलाई पनि राहतका लागि गृहमन्त्रालयमा पहल भइरहेकोे जानकारी दिनुुभयो ।

बाढीपीडितहरूका लागि अध्यारोमा बस्ननपरोस भनेर सोलारको ब्यवस्था गरिएको भएपनि जिल्लामा नपुगेकाले वितरणमा ढिला भएको बताउँदै प्रमुख जिल्ला अधिकारी केशरीले सामाग्री पुुगेपछि समुुदायमै पुुगेर वितरण गरिने बताउनुुभयो ।

कर्णाली प्रदेशका उद्योग, वन तथा पर्यटन मन्त्री नन्दसिंह बुढाले भने मन्त्री परिषद्को वैठकबाट पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय भइसकेको बताउँदै सो निर्णय विपद व्यवस्थापन शाखामा गइसकेकाले केही समयभित्रै पीडितको समस्या समाधान हुुने बताउनुुभयो ।

Photo20191203Dolpa02

Photo20191203Dolpa03

Photo20191203Dolpa04

अन्य

भिडियो