INSEC Online

📅 २०८३ जेष्ठ २१

अञ्चल अस्पतालमै चिकित्सक अभाव, सेवाग्राहीलाई सास्ती

संविधानले धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ ।

तर, मेची अञ्चल अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई सेवा लिन सास्ती भएको छ । चिकित्सक अवाभका कारण सेवाग्राहीले सेवा प्राप्त गर्नका लागि साताभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ ।

२८ जना चिकित्सक रहेको अञ्चल अस्पतालमा यतिबेला १३ जना मात्र चिकित्सकले सेवा प्रवाह गर्दै आएका छन् ।

अस्पतालमा दैनिक ५ सय जना बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । स्वास्थ्य सेवा लिन सेवाग्राही बिहान ७ बजे नै लाइन बसे साँझ ४ बजेमात्र पालो आउने गरेको अस्पतालका अभिलेख अधिकृत मनोजकुमार पोखरेलले बताउनु भयो ।

घाँटी दुख्ने समस्याका कारण तीन सातासम्म अस्पताल पुगेपनि चिकित्सकसँग भेटाउने र जाँचपड्ताल गराउने पालो नपाएको मेचीनगर नगरपालिका–१ का ४३ वर्षीय ठोक्ना मण्डलले बताउनु भयो ।

अस्पतालमा ६ जना मेडिकल अधिकृतको दरबन्दी भएपनि यतिबेला एक जना अफिसरले मात्र सेवा प्रवाह गर्दै आएका छन् ।

एनेस्थेसियोलोजिस्ट (अचेत बनाउने विशेषज्ञ) नाक, कान, घाँटीका विशेषज्ञ र साइकेटिक ( मनोचिकित्सक ) अस्पतालमा छैनन् ।

दरबन्दी २१ जनाको भएपनि यतिबेला ११ जना कन्सल्टेण्टले सेवा प्रवाह गरीरहेको अभिलेख अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालले ५० शैयाको स्वीकृति पाएकोमा अहिले १ सय ३४ शैयाको सेवा प्रदान गरीरहेको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पीताम्बर ठाकुरले बताउनु भयो ।

अञ्चल अस्पतालमा सरकारले २०५० सालमा स्वास्थ्यकर्मी र कर्मचारी गरी १ सय ३ जनाको दरबन्दी कायम गरेको थियो ।

अञ्चल अस्पतालमै चिकित्सकको अभाव भएका कारण सेवाग्राहीलाई सीटीस्याक्न, एनआइसीयू लगातयतका सेवा प्रदान गर्न बन्द गरिएको सुपरिटेण्डेण्ट ठाकुरले बताउनु भयो ।

अस्पतालमा चिकित्सक अभावका विषयमा प्रदेश सरकारलाई जानकारी गराएपनि समस्या समाधान नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेलले बताउनु भयो । उहाँले चिकित्सक तत्काल पठाउन प्रदेश सरकारसँग माग गरेको बताउनु भयो ।

अन्य

भिडियो