उपचार खर्च अभावका कारण उदयपुरगढी गाउँपालिका–७ नेपालटारकी २६ वर्षीया सरिष्मा बुढाथोकीको मङ्सिर १५ गते जिल्ला अस्पताल बोक्सेमा मृत्यु भएको छ ।
थप उपचारका लागि चिकित्सकले जिल्ला बाहिर लैजान आग्रह गर्दा पनि आर्थिक समस्या भएको ३५ वर्षीय प्रेम बुढाथोकीले बताएपछि थप उपचारमा बाहिर लैजान नसकिएको हो ।
शरीरमा रगतको मात्रा कमी भएपछि अन्यत्र लैजान सिफारिस गर्दा पनि पतिले उपचार खर्चका लागि बाहिर लैजाने पैसा छैन भनेपछि अस्पतालले उपचार गर्ने क्रममा मृत्यु भएको डा. अमरेश मेहेताले बताउनुभयो ।
डा. मेहेताले भन्नुभयो–‘म बिहान ७ बजे राउण्डमा जाँदा बिरामी देखेँ । शरीरमा रगतको कमी देखियो । सामान्य परीक्षणसमेत गर्दा केहि जटिलता देखिएपछि काउन्सलिङ गर्दै बाहिर लैजान सुझाव दिएँ । पति पैसा छैन भन्दै थिए । सायद त्यही समस्या हुनु पर्छ ।’
आर्थिक अभावकै कारण अस्पतालले गरेको रगतलगायतका विभिन्न परीक्षणकोसमेत विल भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो–‘पहिलो सन्तान पनि खेर गएको रिपोटिङ्ग भएकाले हामीले गम्भीरताकासाथ हेरेका थियौँ । तर, बचाउन सकेनौँ ।’
पत्निको मृत्यु भएलगत्तैबाट पति सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो–‘मृत्यु हुनसाथ आफन्तलाई लिएर आउँछु भनेर नेपालटारस्थित घरतर्फ हिँडेका प्रेम अहिलेसम्म सम्पर्कमा छैनन् ।’
‘प्रेमले दिएको नम्बरमा पटक–पटक फोन जान्छ उठाउँदैनन् । घरी सम्पर्क हुन सक्दैन ।’–उहाँले भन्नुभयो–‘उहाँको खोजी कार्यलाई तिव्रता दिएका छौँ ।’ पति सम्पर्कविहीन भएसँगै शव पोष्टमार्टम हुन सकेको छैन ।