२० वर्षीया युवतीलाई तीन वर्षअघि बलात्कार गरेको आरोपमा प्रहरीले २७ वर्षीय कलामुद्दिन मुसलमानलाई मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।
सुराकीको आधारमा इलाका प्रहरी कार्यालय पकडीको टोलीले मुसलमानलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनुभयो ।
पीडित युवतीलाई ०७३ माघ १६ गते कलामुद्दीनसहित पाँच जनाको समूहले बलत्कार गरी त्यसको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेको आरोप छ ।
घटनापछि फरार रहेका पाँचै जनालाई जिल्ला अदालतले ०७५ असोजमा जिल्ला न्यायाधीश लोकजङ्ग शाहको इजलासले दोषी ठहर गरेको थियो ।
अदालतले घटनामा संलग्न पाँचै जनालाई ११ वर्ष कैद तथा १–१ लाख रुपियाँ जरिबाना तोकेको थियो ।
कलामुद्दिनलाई घटना लगत्तै प्रहरीले गिरफ्तार गरेको थियो । अदालते पहिलो पटक कलामुद्दीनलाई धरौटीमा रिहा गरेको थियो ।
पछि आफ्नै फैसलालाई उल्ट्याउँदै पाँचै जनालाई दोषी ठहर गरेको थियो । धरौटीमा रिहा भएपछि कलामुद्दीन फरार भएका थिए ।
मायादेवी गाउँपालिका पकडी पिचुर्खीका राहत हुसेन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्दिन मुसलमानलाई सामूहिक बलात्कार घटनामा अदालतले दोषी ठहर गरेको थियो ।
फैसला कार्यान्वयनको लागि प्रहरी तथा कारागारलाई आदेश गइसकेको अदालत प्रशासनले जनाएको छ ।