INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यचौकीहरूमा औषधि अभाव, बिरामीलाई सास्ती

कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएका कारण बिरामीहरूले सास्ती भोग्नु परेको छ ।

नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारले समयमा औषधि खरिद र आपुर्ति नगरेकाले कृष्णपुर नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएको हो ।

कृष्णपुर स्वास्थ्य चौकीमा निःशुल्क वितरण गर्नुपर्ने ४५ प्रकारका औषधिमध्ये २५ प्रकारका मात्रै रहेको र त्यो पनि पर्याप्त नरहेको कृष्णपुर नगरपालिकास्थित स्वास्थ्य शाखाका प्रमुख गजेन्द्र विष्टले बताए ।

नगरपालिका र सङ्घीय सरकारद्वारा प्रदान गरिने औषधि खरिद प्रक्रियाका कारण समयमै औषधि उपलब्ध हुन नसकेको विष्टले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय हुँदा कतै कम र कतै बढी गरेर माग र आवश्यकताको आधारमा आपुर्ति हुँदै आएकोमा अहिले स्थानीय र सङ्घ तथा प्रदेश सरकारको तालमेल नमिलेका कारणले समयमा नगरपालिका क्षेत्रभित्र रहेका संस्थाहरूमा निःशुल्क वितरण गर्ने औषधि अभाव भएको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

कोटेशन र टेण्डर गरेर औषधि खरिद गर्ने हुँदा समय बढी लाग्ने र आएको औषधिसमेत नगरपालिकामा जम्मा गर्नुपर्ने त्यसपछि दाखिला र पठाउनुपर्ने भएकाले महिनौसम्म ढिलाइ हुने गरेको बिष्टले बताए ।

स्वास्थ्य चौकीमा गएर जाँच गराएपछि औषधि सकियो भनेर बिरामीलाई फिर्ता पठाउने गरिएको गुनासो आउने गरेको मानव अधिकार निगरानी समूहकी सदस्य चित्रा ओझाले बताइन् ।

उनले स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि सकिएको भन्दै फर्काउने गरेको आरोप लगाइन् । कृष्णपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुदत्त भट्टले औषधि आपुर्तिका लागि आवश्यक प्रकिया सुरू गरी तुरुन्तै स्वास्थ्य संस्थामा निःशुल्क औषधि वितरण गरिने बताए ।

अन्य

भिडियो