चक्रघट्टा गाउँपालिका–४ की २२ वर्षीया खुर्सिदा खातुनलाई कात्तिक २६ गते घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीया सौता कोरैसा खातुनलाई सोही दिन गिरफ्तार गरेको छ ।
शेख बलालकी जेठी पत्नी कोरैसा खातुनले पति विदेश गएको मौका छोपी सौता खुर्सिदा खातुनको हत्या गरेको आरोप छ ।
पराल काट्ने फलामको धारिलो हतियारले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदा खातुनको शव बरामद भएको इलाका प्रहरी कार्यालय सुन्दरपुरका असई सोनालाल साहले जानकारी दिए ।
हत्या गरी बाँधेर प्लाष्टिकको जेब्रा झोलामा हाली घरको आँगनमा शव रहेको भनी विशेष जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सुन्दरपुरका असई साहको कमाण्डमा खटिएको चार जनाको टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमा पुगेपछि प्रहरीले मृतकको शव बरामद गरी आरोपित कोरैसा खातुन र हत्या गर्न प्रयोग गरेको हतियार नियन्त्रणमा लिएको जनाएको छ ।
कोरैसा र खुर्सिदा बिच पटकपटक घरायसी विवादका कारण झगडा हुने गरेको स्थानीयले जनाएका छन् ।
कोरैसा र खुर्सिदाका पति शेख बलाल ३–४ दिन अघि वैदेशिक रोजगारका लागि गएको छिमेकीहरूले जानकारी दिए ।
घटनाको थप अनुसन्धान भइरहेको र शवको पोष्टमार्टम जिल्ला अस्पताल मलङ्गवामा कात्तिक २७ गते गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतितसिंह राठौरले बताए ।