आवश्यक भौतिक पुर्वाधार र पाठ्यसामग्रीको अभावमा छत्रेश्वरी गाउँपालिकामा रहेको त्रिभुवन जनमाध्यमिक विद्यालयमा एउटै कोठामा पाँचओटा कक्षाको पठनपाठन भएपछि विद्यार्थीलाई बुझाइमा समस्या हुने गरेको छ ।
सुस्तश्रवण स्रोत कक्षा सञ्चालन गर्न आवश्यक भौतिक पुर्वाधार र पाठ्य सामग्रीको अभावमा यसरी एउटै कोठामा पाँचओटा कक्षा सञ्चालन हुँदा पठनपाठन प्रभावित भएको शिक्षक र अभिभावक बताउँछन् ।
एउटै कोठामा फरक–फरक कक्षाका विद्यार्थी राखेर पठनपाठन गराउँदा सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको शिक्षिका शान्ता केसीले बताइन् ।
विद्यालयमा स्रोत शिक्षक अन्तर्गत आफूमात्रै रहेको जानकारी दिँदै शिक्षिका केसीले एकदेखि पाँच कक्षा सम्मका बालबालिकालाई एउटै कोठमा पढाउनुपर्ने बाध्यता हुँदा पठनपाठनमा समस्या आएको बताइन् ।
यस्तै शैक्षिक सामग्रीसमेत पर्याप्त मात्रामा नहुँदा सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन नसकेको शिक्षिका केसीको भनाई छ ।
हाल विद्यालयको स्रोत कक्षामा ११ जना छात्र र चारजना छात्रा गरी १५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक जितबहादुर भण्डारीले बताए ।
०५९ सालदेखि विद्यालयमा साङ्केतिक भाषा कक्षा सञ्चालनमा रहेको जानकारी दिँदै प्रधानाध्यापक भण्डारीले विद्यालयमा १० जना विद्यार्थीको कोटा भए पनि थप पाँचजना विद्यार्थीलाई भर्ना गरेर पठनपाठन गराइरहेको बताए ।
भौतिक पुर्वाधारको अभाव र विद्यार्थी सङ्ख्या पनि कम रहेको भन्दै प्रधानाध्यापक भण्डारीले साङ्केतिक भाषामार्फत् अध्यापन गर्ने शिक्षिकाको व्यवस्था भएपछि भने पहिलेको तुलनामा अहिले केही सजिलो भएको प्रतिक्रिया दिए ।
जिल्लामा रहेका अन्य विद्यालयमा सञ्चालित स्रोत कक्षाको पठनपाठनसमेत प्रभावकारी बन्न नसकेको शिक्षक र अभिभावक बताउँछन् ।
शारदा नगरपालिकामा रहेको शिवजन माध्यामिक विद्यालयमा सञ्चालित दृष्टिविहीन कक्षाका विद्यार्थी ब्रेल लिपीबिना नै अध्ययन गरिरहेका छन् ।
सो विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीसँगै अपाङ्गता भएका विद्यार्थीलाई राखेर पढाउनुपर्ने बाध्यता हुँदा कक्षा प्रभावकारी नभएको शिक्षक राजेश अर्यालले बताए ।
‘दृष्टिविहीन विद्यार्थीले नबुझ्दा एउटै कुरा पटकपटक दोहोर्याउनुपर्छ ।’–शिक्षक अर्यालले भने–‘ब्रेल लिपीमार्फत पठनपाठन नहुँदा विद्यार्थीलाई बुझाइमा समस्या छ ।’
अर्यालका अनुसार विद्यालयमा १९ जना दृष्टिविहीन विद्यार्थीले अध्ययन गरिरहेको भएपनि सरकारले पर्याप्त जनशक्ति र पूर्वाधारको व्यवस्था नगरेकाले पठनपाठन प्रभावकारी ढङ्गले कक्षा सञ्चालन गर्न सकिएको छैन ।
![SofK;gM lqhdfla ef]6rf}/df ;+rflnt ;f+s]lts efiff sIffdf Ps b]lv kf“r ;Ddsf afnaflnsfnfO{ Pp6} sIffdf k9fpb} lzlIfsf zfGtf s]l; . tl:j/M ljKnj dxh{g÷sflGtk'/](https://inseconline.org/np/wp-content/uploads/2019/11/Photo20191112Salyan01.jpg)
