INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा लक्षित वर्ग समस्यामा

सिरानचोेक गाउँपालिकाका ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । गाउँपालिकाको ढिलाइ र वेवास्ताले दशै तिहार जस्ता चाडपर्वमा समेत सामाजिक सुरक्षा भत्ता नपाएको उनहरूको आरोप छ ।

‘जेठ महिनादेखि सामाजिक सुरक्षा भत्ता पायका छैनौँ ।’–सिरानचोक गाउँपालिका–४ छोप्राक स्थित जैसिथोकका ८९ वर्षीय विष्णुप्रसाद पोखरेलले भने‘–‘यो दशैँतिहार नै खल्लो भयो ।’

गाउँपालिकामा पटकपटक सामाजिक सुरक्षा भत्ताको माग राख्दै ज्येष्ठ नागरिक पुग्ने गरेको उनले बताए । ‘कसैको छोराछोरी छैनन् । कोही बुढापाका छोराछोरीको अपहेलनाले छुट्टिएर बसेकाहरू पनि छन् ।’–उनले भने–‘यस्तो समस्यामा पिल्सिएकाहरू भत्ता पाएपछि नुन तेल किनेर गुजारा चलाउँथे, अहिलेसम्म पैसा नपाउँदा मारमा परेका छन् ।’

सिरानचोक गाउँपालिका–६ गाखुकी ६६ वर्षीया एकल महिला टिकाकुमारी खड्का सामाजिक सुरक्षा भत्ता चाँडो निकासाको माग गर्दै वडा कार्यालयमा पटक–पटक पुगेकी छन् ।

‘दशैँ अघि नै आउनुपर्ने भत्ता आएन ।’–उनले भनिन्–‘अहिले भत्ता पनि बढेको छ सुनेका छौँ । कति बढ्यो नपाइ थाहा नहुँदो रहेछ ।’ रकम निकासा नहुँदा उपचार गर्न समेत समस्या परेको उनको गुनासो छ ।

‘पेटको समस्या र घोडाको रोग छ ।’–उनले भनिन्–‘भत्ता पाए ओखतीमुलो गर्न पनि पाइएन ।’ भत्ता नपाउँदा ज्येष्ठ नागरिक निकै समस्यामा परेको गाखुका हरेराम अर्यालले बताए ।

‘बुढाबुढीलाई ऋण सापटी पनि कसैले पत्याएका छैनन् ।’–उनले भने–‘दशैँका बेला मासु खाने धोको हुन्छ, मिठो मसिनो खानेकुरा खान पनि पायनौ भनेर गुनासो बुढाबुढीहरू गाउँमा छन् ।’

आठ वडा रहेको गाउँपालिकामा चालु आर्थिक वर्ष २०७६÷७७ मा एकजनलाई पनि सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको उनले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषबहादुर कुँवरले भत्ता पाउनेहरूको सूची अपडेट र बैङ्क खाता खोल्न प्रक्रिया मिलाउँदा केहि ढिला भएको बताए ।

‘सबै वडामा सामाजिक सुरक्षा भत्ता लिने कस्ताकस्ता व्यक्ति कति सङ्ख्यामा छन् डाटा इन्ट्रिको काम चलिरहेको छ ।’–उनले भने–‘गाउँपालिकाभर करिब ४२ सयले सामाजिक सुरक्षा भत्ता पाउँछन् । कस्ता व्यक्ति कति सङ्ख्यामा छन् ? डाटा इन्ट्रि सकिएपछि यथार्थ तस्वीर आउँछ ।’

अबको साता १, ४ र ५ वडाका करिब १ हजार २ सय लाभग्राहीको सामाजिक सुरक्षा भत्ता बैङ्क खातामा उपलब्ध गराउने उनको भनाइ छ ।

‘६ र ७ वडाको पनि अपडेड हुँदैछ ।’–उनले भने । सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थित गर्न केही समय लागेको उनको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष राजु गुरुङले पनि दोहोरोपना आउन नदिन व्यवस्थित तवरले बैङ्क खाताबाट रकम उपलब्ध गराउन लागिएको बताए ।

‘अब यसै महिनाभित्र बैङ्क खातामा पैसा हाल्छौँ ।’–उनले भने । गाउँपालिकामा रहेको ग्लोवल आइएमइ बङ्कबाट सामाजिक सुरक्षा भत्ता वितरण हुने उनले बताए ।

अन्य

भिडियो