१४ वर्षीया बालिकालाई बैत्यश्वर गाउँपालिका–४ किसोहीका २८ वर्षीय गणेश शिवाकोटीलगायत नौ जनाले स्थानीय सडक किनारमा कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिएको उजुरी प्रहरीले कात्तिक १४ गते दर्ता गरेको छ ।
सोही ठाउँका २९ वर्षीय शालिकराम शिवाकोटी, २८ वर्षीय हरिराम रिमाल, ३० वर्षीय कृष्ण खड्का, २९ वर्षीय सुकदेव घिमिरे, २८ वर्षीय प्रदिप नेपाली, २९ वर्षीय सुरज कार्कीलगायत अन्य दुई जनाले यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित पक्षले कात्तिक १२ गते उजुरी दिएतापनि दिपावलीको विदा भएकाले कार्यालय खुलेकै दिन उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताए ।
आरोपितमध्ये सात जनालाई कातिक १२ गते नै प्रहरीले गिरफ्तार गरेको र २ जना फरार रहेकोले उनीहरूको नाम दिन नसकिने जिल्ला प्रहरी कार्यालय दोलखाका इन्स्पेक्टर रेशम बोहराले जानकारी दिए ।
यौन दुर्व्यवहारका क्रममा पीडित बालिकाको घाँटीदेखि छातीसम्म चोट लागेको र कपडा समेत च्यातिएको उजुरीमा उल्लेख छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार कात्तिक १२ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको छ ।