माप्यदूधकोशी गाउँपालिका –७ वाप्साकी सुन्तली मगर जिल्ला अस्पताल फाप्लुबाट फर्कँदै गरेको अवस्थामा भेटिइन् ।
गाउँको स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि डेढ दिनको यात्रापछि जिल्ला अस्पताल फाप्लु पुगेपनि चिकित्सक नहुँदा उपचार नगराई फर्कनु परेको उनको गुनासो छ ।
अस्पताल पुगेर स्वास्थ्य लाभ नलिई फर्किने उनी एक्ली स्वास्थ्य सेवाग्राही भने होइनन् । जिल्ला अस्पताल फाप्लुमा कार्यरत चिकित्सक समायोजन पछि तोकिएको ठाँऊमा जाँदा अस्पतालमा चिकित्सकको अभाव भएको एक महिनाभन्दा बढी भएको छ ।
जिम्मेवारी पाएका चिकित्सक अस्पतालमा हाजिर नहुँदा दूरदराजबाट स्वास्थ्य सेवा लिन आउने सेवाग्राहीहरू फर्कनु परेको छ ।
स्वास्थ्यकर्मीको समायोजनसँगै अस्पतालमा चिकित्सकको अभाव भएपछि यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ र जन स्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को ३ स्वास्थ्य सेवा प्रवाह गर्ने कानुन र व्यवस्थामा आकर्षित हुन्छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ ।
सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार अधिकार किटान गरिएको छ । तर, जिल्ला अस्पतालमा भने स्वास्थ्य सेवा नलिई बिरामी फर्कनु पर्ने अवस्था छ ।
विभिन्न स्वास्थ्य चौकीबाट रिफर हुने अधिकांश बिरामीको आशा र भरोसाको केन्द्र जिल्ला अस्पतालमा नै चिकित्सक नहुँदा बिरामी जिल्ला बाहिर जान बाध्य छन् ।
उपचारको लागि अस्पताल पुगेपनि सामान्य उपचार समेत नहुने भएपछि ओखलढुङ्गाको मिशन अस्पताल या काठमाडौँ नै जानुपर्ने बाध्यता रहेको सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाकी जन्ता राईले बताइन् ।
शल्यक्रियामार्फत् हुने प्रसूति सेवा कर्मचारी समायोजनअघि जिल्ला अस्पतालबाट हुन्थ्यो भने अहिले शल्यक्रिया गर्नुपरे मिशन अस्पताल वा काडमाडौँ जानै पर्ने बाध्यता छ ।
सदरमुकाम आएपछि मात्र मिशन अस्पताल वा काठमाडौँ जाने यातायातका साधन पाइन्छ । जिल्लाका विभिन्न क्षेत्रबाट सदरमुकाम आउन मोटरमा दुई दिनसम्म लाग्छ ।
समायोजनअघि ११ औँ तहको विशेषज्ञ डाक्टरसहित ३५ जना स्वास्थ्यकर्मीले कार्यरत रहेको अस्पतालमा अहिले नवौँ तहको चिकित्सकसहित १८ जनाको दरबन्दी कायम छ ।
देश सङ्घीय संरचनामा गएसँगै जिल्ला अस्पतालको जिम्मेवारी समेत प्रदेश सरकार मातहतमा छ । फलस्वरूप जिल्ला अस्पतालको दरबन्दी कटौती भएको अस्पताल प्रशासनले जनाएको छ ।
समायोजनअघि करारका सहित पाँच जना डाक्टरले सेवा दिएको जिल्ला अस्पताल फाप्लुमा अहिले एक जना मेडिल अधिकृत रमिन महर्जन मात्रै कार्यरत छन् ।
उनको समेत समायोजनमा ललितपुर दरबन्दी कायम भएको छ । अहिले जिल्ला अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी सम्हाली रहेका डाक्टर महर्जनले समेत बरबुझारथ लिने कर्मचारी नभएकै कारण बाध्यताले बस्नुपरेको बताए ।
कसैको रोजाईमा परेन फाप्लु
समायोजनको क्रममा जिल्ला अस्पताल फप्लुका लागि कसैले पनि रोजेका छैनन् । जसले गर्दा पनि यहाँ समस्या थपिएको डाक्टर महर्जनको भनाई छ ।
‘दक्ष जनशक्ति थप गर्नुपर्नेमा ११ औँ तहबाट ९ औँ तहमा झारेर कसरी सेवा प्रवाह हुन्छ ?’–डाक्टर महर्जनले भने ।
१८ जनाको दरबन्दीमा अहिले १० जना मात्र कार्यरत हुँदा यहाँका नागरिकले सेवा होइन सास्ती खेप्नु र अन्यत्र जानुको विकल्प छैन ।
चिकित्सक अभावका विषयमा प्रदेश मन्त्रालयमा बारम्बार प्रस्ताव राखेको भएपनि सुनुवाइ नभएको अस्पतालका निमित्त प्रमुख डाक्टर महर्जनको भनाई छ ।
सांसदकै कुरा सुनुवाइ हुँदैन
सोलुखुम्बु जिल्ला प्रदेश सभा (ख) का सांसद बुद्धिकुमार राजभण्डारीले जिल्लाको स्वास्थ्य अवस्थाबारे सङ्घीय सरकारलाई समेत बारम्बार जानकारी गराएको भएपनि बेवास्ता गरेको बताए ।
स्वास्थ्य मन्त्रालयको लापरबाहीले गर्दा जिल्ला अस्पतालहरू कमजोर बन्न पुगेको गुनासो सांसद राजभण्डारीले गरे ।
आफूले बारम्बार आवाज उठाउँदा समेत सुनुवाइ नभएको गुनासो गर्दै सांसद राजभण्डारीले सर्वसाधरणको समस्यालाई सरकारले नबुझेको दावी गरे ।
उनले राज्यले स्वास्थ्य अधिकारलाई मौलिक हकका रूपमा संविधानले व्यवस्था गरेपछि सरकारले सोही अनुसार व्यवस्था मिलाउनु पर्ने बताए ।