INSEC Online

📅 २०८३ जेष्ठ २२

विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या, विशेषज्ञ चिकित्सकको माग गर्दै ज्ञापनपत्र

अमरगढी नगरपालिका-७ पोखराकी निशा ताम्राकारलाई सुत्केरी व्याथाले च्यापेपछि डडेल्धुरा अस्पाताल पुगिन् । तर, अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा उनी सेती प्रादेशिक अस्पताल धनगढी गएर सुत्केरी भइन् ।

जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा निशा जस्तै धेरै बिरामीहरू महङ्गो शुल्क तिर्दै उपचारका लागि अन्यन्त्र जानु पर्ने बाध्यता रहेको निशाका पति ज्ञानेन्द्र ताम्राकारले दुखेसो पोखे ।

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई सेवा दिने उद्देश्यले २०२२ सालमा स्थापना भएको अस्पताललाई सरकारले ०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषणा गरेको थियो ।

०७६ साउन महिनामा नै विशेषज्ञसहितको सुविधा प्रदान गर्ने गरी सङ्घको मातहतमा डडेल्धुरा अस्पताल राखेर स्तरोन्नति गरियो ।

तर, अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्था नगरिँदा बिरामीहरू उपचारका लागि धनगढी, कोहलपुर र भारतका अस्पतालमा उपचारका लागि जान बाध्य भएका छन् ।

स्तरोन्नति गरिएको भनिएको अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी र विशेषज्ञ डाक्टर नहुँदा  समान्य अप्रेशन, डेलिभरी, इमरजेन्सी, प्लाष्टरलगायतका बिरामीहरूलाई बाहिर रेफर गर्नु पर्ने अवस्था आएको अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले बताए ।

दैनिक १ सयदेखि २ सयसम्म बिरामी आउने गरेको भए पनि विशेषज्ञ डाक्टरको अभावमा चेकजाँच गर्न नै समस्या हुने गरेको अस्पतालमा कार्यरत डाक्टर नरेश श्रेष्ठले बताए ।

उनले भने-‘अहिले ओपीडीमा दैनिक १ सयदेखि २ सयसम्म बिरामी आइरहेका छन् । दरबन्दी अनुसारका चिकित्सक छैनन् । एक जना मात्रै चिकित्सकलाई काम गर्न गाह्रो भएको छ । स्वास्थ्य मन्त्रालय तथा विभागबाट रिक्त रहेका डाक्टरको दरबन्दी पुर्ति नभएसम्म बिमारीहरूलाई सेवा दिन समस्या छ ।’

२० जना विशेषज्ञ डाक्टर दरबन्दी रहेको अस्पतालमा एक जना पनि छैनन् 

डडेल्धुरा अस्पतालमा २० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर, हाल अस्पतालमा छात्रवृत्ति करारबाट एक जना मात्रै एमबिबिएस डाक्टर कार्यरत छन् ।

अस्पतालमा अहिले नेपाल सरकारका तर्फबाट १ सय ८ जना कर्मचारीको दरबन्दी स्वीकृत भएकोमा ३७ जना कर्मचारीकोे मात्र पदपुर्ति भएको छ । ७१ जना कर्मचारीको पद रिक्त रहेको छ ।

त्यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत हुनु पर्नेमा ३४ जनाको पदपुर्ति भई आठ जनाको पद रिक्त रहेको छ । अस्पतालमा अहिले अन्य कर्मचारी भनेर करारमा ४५ जना र ज्यालादारीमा सात जना कर्मचारी कार्यरत रहेका छन ।

अस्पतालमा १९ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा हालसम्म नौ जना नेपाल सरकारको तर्फबाट र एक जना करारमा गरी जम्मा १० जना मात्र रहेको बताउँदै त्यसमध्ये  पनि ६ जना अध्ययन तथा असाधारण विदामा रहेको र तीन जाना समायोजन भएपछि अहिले अस्पतालमा एक जना मात्र डाक्टर कार्यरत रहेको अस्पतालका सूचना अधिकारी पन्तले बताए ।

उनले भने-‘चिकित्सक अभावमा अस्पतालका सेवाहरूमध्ये सिजरियन सर्जरी सेवा, यूएसजी सेवा, इन्डोस्कोपी सेवा तथा एसएनसियू सेवा समेत बन्द गरिएको छ ।’

विशेषज्ञ चिकित्सकको माग गर्दै ज्ञापनपत्र

डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसारको चिकित्सकको माग गर्दै नागरिक समाज र जनप्रतिनिधिको टोलीले उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई कात्तिक ४ गते ज्ञापन पत्र बुझाएको छ ।

मन्त्री यादवलाई भेट्न काठमाडौँ पुगेको टोलीले अस्पतालमा चिकित्सक नहुँदा नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको र सामान्य उपचारका लागि समेत महङ्गो शुल्क तिरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको गुनासो गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र बुझदै मन्त्री यादवले डडेल्धुरा अस्पतालका लागि तत्काल १२ जना चिकित्सक पठाइने आश्वासन दिएको अमरगढी नगरपालिकाका प्रमुख विश्वेश्वरप्रसाद ओझाले बताए ।

ज्ञापनपत्र बुझाउन सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, अमरगढी नगरपालिकाका प्रमुख ओझा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल, आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ, उपाध्यक्ष जलादेवी बोगटी, नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्मरी ओली, भागेश्वर गाउँपालिकाका उपाध्यक्ष पदमबहादुर बोहरा, जिल्ला समन्वय समिति सदस्य रामचन्द्र अवस्थी र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य उत्तर विष्ट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेका थिए ।

प्रतिनिधिसभा सदस्य निरादेवी जैरुको नेतृत्वमा इन्सेक, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, राजनैतिक दल, बार एसोसियसन, नागरिक समाज, पत्रकारलगायत सम्मिलित समिति असोज १५ गते बनाएपछि त्यसयता विशेषज्ञ डाक्टरको पदपुर्तिको माग गर्दै आएका थिए ।

अन्य

भिडियो