जिल्ला अदालतले गैरकानुनी थुनामा रहेका दाङ जिल्ला तुलसीपुर उपमनपा–५का ६७ वर्षीय कृष्णबहादुर ओलीलाई रिहा गर्न असोज २६ गते आदेश दिएको छ ।
कृष्णबहादुर ओलीलाई मित छोरी सावित्रा चन्दको भारतको सिम्लामा मुटुको शल्यक्रियाका लागि रकम लिएर जाँदै गर्दा असोज १८ गते इलाका प्रहरी कार्यालय कृष्णनगरले ७ लाख ६० हजार ६ सय ५० भारतीय रुपियाँसहित गिरफ्तार गरेको थियो ।
तुलसीपुर उमनपा–५ ले मित छोरीको उपचार गर्न रकम आवश्यकता परेकोले कृष्णबहादुर ओलीलाई उपचारको लागि ७ लाख ६० हजार भारतीय रुपियाँ लैजानु पर्ने भएकोले कँहि कतै रोकतोक नगरी जान दिनु हुन भनी सिफारिससमेत गरेको थियो ।
प्रहरीलाई उक्त सिफारिश पत्र देखाउँदा देखाउँदै पनि आफूलाई गिरफ्तार गरेको पीडित ओलीले बताए । छोरीले समयमा उपचार नपाउदा समस्या भएको उनले बताए । उनी गिरफ्तार भए लगत्तै दशैँ विदा भएको थियो ।
पीडितका छोरा लिलमान ओलीले २४ घण्टाभन्दा बढी गैरकानुनी रूपमा हिरासतमा राखेको भन्दै असोज २४ गते जिल्ला अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
जिल्ला अदालतले बन्दी प्रत्यक्षीकरणमाथि सुनुवाइ गर्दै गैरकानुनी रूपमा थुनामा राखेको निश्कर्षसहित ओलीलाई हिरासत मुक्त गर्न आदेश दिएको हो ।