लक्ष्मीपुर पतारी गाउँपालिका–४ स्थित श्री आधारभुत विद्यालयका विद्यार्थीहरूले एक वर्षदेखि दलित छात्रवृत्तिको रकम पाएका छैनन् भने यस आर्थिक वर्षमा पाठयपुस्तक पनि पाएका छैनन् ।
विद्यालयमा लगभग १ सय ८० जना बालबालिकाहरू अध्यनरत रहेका छन् भने ती मध्ये अधिकांश दलित बालबालिकाहरू छन् ।
शैक्षिक सत्र सुरू भएको पाँच महिना बितिसक्दा पनि विद्यार्थीहरूले पाठयपुस्तक नपाउँदा पुरानै पाठयपुस्तकमा पढ्न बाध्य भएको र छात्रवृत्ति रकम नपाउँदा शैक्षिक सामग्री किन्न नपाएको अभिभावक श्यामलाल सदाले बताए ।
विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा विद्यार्थीहरूले छात्रवृत्ति र पाठयपुस्तक पाएका छैनन् भने शिक्षकहरूले पनि तलब महिनौँदेखि पाएका छैनन् ।
व्यवस्थापन समितिको म्याद ०७५ असारमा सकियो, मङ्सिरमा अर्को समिति गठन प्रक्रिया सुरू भयो । अभिभावक भेलाले समिति गठनका लागि हरिप्रसाद सदाय, जलासीदेवी सदाय, अर्जुन मण्डल र बबिताकुमारी दासलाई सदस्यमा चयन गर्यो ।
गाउँपालिकाले मनोनित सदस्यमा छेदीलाल राम र सियावती सदायलाई मनोनित गरी निमित प्रअ विश्मभर शर्माको रोहबरमा अभिभावक, समितिका सदस्य, विद्यालय निरीक्षक र गाउँपालिकाको प्रतिनिधि भेलाले हरिप्रसाद सदाय अध्यक्षमा चयन गर्यो ।
विद्यालयका प्रधानाध्यापक तारणीप्रसाद चौधरी आफ्नो अनुपस्थितिमा प्रकृया नपुर्याएर गठन भएको व्यवस्थापन समिति नमान्ने अडानमा छन् ।
व्यवस्थापन समिति प्रकृया नपुर्याइकन गठन भएको र सो विषयमा हालसम्म माइनुट पनि नपाएको, शिक्षा समितिले सिफारिस पनि नगरेकोले बैङ्क खाता सञ्चालन भएको छैन ।
खाता सञ्चालन नहुँदा पाठ्यपुस्तक, छात्रवृत्तिको रकम र शिक्षकहरूको तलब पनि रोकिएको प्रअ चौधरीले बताए ।
यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद सदायले आफू दलित भएकै कारण प्रअ चौधरीले स्वीकार नगरी प्रकृया अगाडि नबढाएको बताए ।
लक्ष्मीपुर पतारी गाउँपालिका अध्यक्ष रामवल्लभ साहका अनुसार नियम अनुसार गठन भएको व्यवस्थापन समितिलाई प्रअले मान्दिन भनी विवाद गरेकोले उनको तलब समेत गाउँपालिकाले रोक्का गरेको बताए ।
आफ्नो तलब रोक्का गरेकाले प्रअले विद्यालयको खाता सञ्चालनमा नल्याएको, पाठ्यपुस्तकका लागि रकम, शिक्षकहरूको तलब र छात्रवृत्तिको रकम माग नगरेको गाउँपापिलका अध्यक्ष साहले बताए ।