टेम्केमैयुङ गाँउपालिका–२ मा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ३ जना जना बालबालिकामध्ये ४५ जना बालबालिका भदौ १५ गतेदेखि भालु आतङ्कका कारण विद्यालय जान सकिरेहका छैनन् ।
सोही गाउँपालिका–२ मा पर्ने छिनामुख रूम्ला जङ्गलमा बस्ने भालु भदौ १५ गतेदेखि बस्तीसम्मै आएर आतङ्क मच्चाउन थालेपछि सोही बाटो भएर विद्यालय जाने ४५ जना विद्यार्थी असुरक्षाका कारण पढ्न जान नसकेका हुन् ।
भालुको आतङ्कका कारण असुरक्षित भएपछि भदौ १५ गतेयता विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद राईले बताए ।
भालु आतङ्क नियन्त्रणका लागि स्थानीयले टेम्केमैयुङ गाउँपालिका–२ को वडा कार्यालयमा भदौ २३ गते निवेदन दर्ता गराएपनि भालु नियन्त्रणका लागि असोज २ गतेसम्म पहल नभएको फुर्तेन्जी शेर्पाले गुनासो गरे ।
भालु आतङ्कले विद्यालय बन्द गर्नु परेको, बालबालिका पढाइबाट वञ्चित भएको र अन्नबाली नष्ट भएकाले आतङ्क नियन्त्रणका लागि वडा कार्यालयले गाँउपालिकामा भदौ २४ गते निवेदन दर्ता गराएको वडा–२ का अध्यक्ष रत्न राईले बताए ।
बालबालिका विद्यालय जान नपाएको र दशैँ विदा अघिको समयमा ल्याकत परीक्षा हुने भएपनि विद्यालय बन्द गर्नुपरेकाले विद्यालय तत्काल खुल्ने गरी सुरक्षा व्यवस्था मिलाउन माग गर्दै गाँउपालिकाले भदौ ३० गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भालु नियन्त्रणका लागि भदौ ३१ गते डिभिजन वन कार्यालयलाई सर्कुलर गरेको बताए । डिभिजन कार्यालयबाट आवश्यक प्रक्रिया सुरू भएपछि भालु नियन्त्रण हुने सिडिओ खतिवडाको भनाई छ ।
स्कूल जाने बाटोमा भालुको डर हुने भएकाले विद्यालय जान छाडेको कक्षा–५ मा अध्ययनरत छात्रा कोपिला राईले बताइन् ।
भालु आतङ्कका कारण छिनामुख, रूम्ला, पञ्ची, काङटाङ, खैला, सिँगानेलगायतका क्षेत्रमा असुरक्षा बढेको छ । स्कूल जाने बाटोमा भालुको डर हुने भएकाले विद्यालय जान छाडेको कक्षा–५ मा अध्ययनरत छात्रा कोपिला राईले बताइन् ।