खजुरा गाउँपालिका–२ सितापुरमा नेकपाका कार्यकर्ताले भदौ २६ गते नेपाली कांग्रेसका जिल्ला सभापति नेपालगन्ज उमनपा–१० की ७० वर्षीया किरण कोइराला लगायतका नेताहरूमाथि कुटपिट गरेको नेपाली कांग्रेसले विज्ञप्तमार्फत जनाएको छ ।
खजुरा गाउँपालिका–१ का ३२ वर्षीय रोशनसिह ठकुरी, ३० वर्षीय लोकबहादुर शाही, ३६ वर्षीय निर्मल सिंह, ३२ वर्षीय सुनिल शाही, ३३ वर्षीय पारस मल्ल र ३० वर्षीय निमबहादुर वलीलगायतले कार्यक्रम स्थलमा प्रवेश गरी आक्रमण गरेको र आक्रमणबाट कोइरालाको हातमा चोट लागेको विज्ञप्तिमा जनाइएको छ ।
नेपाली कांग्रेसले भदौ २६ गते विज्ञप्ती प्रकाशित गर्दै नेता तथा कार्यकर्ता माथि साङ्घातिक आक्रमण गरिएको घटना भत्र्सना गरेको छ ।
आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कारबाहीको माग गर्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
घटनाको विरोधमा नेपाली कांग्रेसका कार्यकर्ताहरूले भदौ २७ गते नेपालगञ्जमा टायर जलाएर चक्काजाम गरेका थिए ।
इलाका प्रहरी कार्यालय धनौलीका इन्स्पेक्टर कोसन थपलियाका अनुसार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खजुरा गाउँपालिका–१ का रोशनसिंह ठकुरी, लोकबहादुर शाही र निर्मल सिंहलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको छ ।
नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको अभियान अन्तर्गत रेडक्रसको हलमा आयोजना गरिएको कार्यक्रममा नेकपाका कार्यकर्ताहरूले प्रवेश गरेर कुटपिट गरेको सभापति कोइरालाले बताइन् ।







