टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भदौ ९ गते खाँदबारीमा कार्यक्रम गर्न लागेको आरोपमा प्रहरीले गिरफ्तार गरेका तीन जनालाई डिएसपीले कुटपिट गरेको भन्दै स्थानीयले आरोपितमाथि कारवाही गर्न माग गर्दै भदौ १० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
कार्यक्रम गर्न लागेको आरोपमा खाँदबारी नपा-१ का २५ वर्षीय सेवक बजगाई, ३९ वर्षिय दीपेन्द्र कार्की र ४३ वर्षीय रमोद श्रेष्ठलाई प्रहरीले भदौ ९ गते गिरफ्तार गरेको थियो ।
हिरासतमा डिएसपी मिमबहादुर लामाले मुक्का र लात्तीले कुटपिट गरेको पीडित पक्षको आरोप छ । भदौ १० गते मध्यान्ह प्रहरीले रिहा गरेको पीडित सेवकले बताए ।
सुरक्षा दिनुपर्ने बाटै असुरक्षित भएको भन्दै कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
शान्तिपूर्ण विरोध गर्न नदिई हिरासत राखेर कुटपिट गरेकाले दोषीलाई कारवाही माग गर्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाललाई ज्ञापनपत्र बुझाइएको वाणिज्य सङ्घले जनाएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ दुलालले आरोपित र पीडित पक्षबीच भदौ १० गते छलफल गराई समस्या समाधान गर्ने बताएका छन् ।