गोरखा नपा-१० टक्सारमा रहेको मनकामना आवासीय बाहिरा माध्यमिक विद्यालयमा कार्यरत् (कार्यलय सहयोगी) ५० वर्षीय श्यामहरी घिमिरे साउन २८ गते मृत भेटिएका छन् ।
साउन २७ गते राति ८ः३० बजे विद्यालयको काम सकेर घर फर्किएका घिमिरे २८ गते बिहानसम्म घर परिवार र विद्यालयको सम्पर्कमा नआएपछि खोजी गर्दा सोही विद्यालय नजिकै रहेको कुवाडी सामुदायिक वनमा शव भेटिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले बताए ।
सडकभन्दा करिब ५० मिटर तल जङ्गलमा घिमिरेको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी महेन्द्र नेपालले बताए ।
सुस्तश्रवण अपाङ्गता भएका मृतक घिमिरे १८ वर्षदेखि सो विद्यालयका कार्यालय सहयोगी पदमा कार्यरत थिए ।
मृतकको गोडा र टाउकोमा चोट देखिएको र मृत्यु शङ्कास्पद देखिएको भन्दै छानविनका लागि स्थानीयले साउन २८ गते प्रहरीमा मौखिक उजुरी गरेका छन् ।
विद्यालय प्रशासनले पनि घटनाको सत्यतथ्य छानविनको माग गर्दै २८ गते नै जिल्ला प्रहरी कार्यालय, गोरखामा उजुरी दिएको छ ।
शवको पोष्टमार्टम २८ गते नै गोरखा अस्पतालमा भएको र घटनाको बारेमा अनुसन्धान गरिरहेको डिएसपी नेपालले जानकारी दिए ।