अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २७ औँ स्मृति दिवसका अवसरमा २५ औँ “प्रकाश मानव अधिकार पुरस्कार–२०७५” मोरङका सामाजिक अभियन्ता गुरूप्रसाद बराललाई प्रदान गरिएको छ ।
साउन १६ गते इन्सेकले विराटनगरमा आयोजना गरेको २७ औँ प्रकाश स्मृति दिवसका अवसरमा बराललाई सम्मान गरिएको हो । बराललाई प्रदेश १ का प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङ, मुख्यमन्त्री शेरधन राई, इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठलगायतले सम्मानपत्र, ताम्रपत्र, नगदसहित इन्सेक चिन्ह प्रदान गर्दै सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख तुम्बाहाङले पहिलेको समयभन्दा अहिले मानव अधिकारको क्षेत्र व्यापक बन्दै आएको बताए ।
नेपालको इतिहासमा निमुखा वर्गका पुरूषले समेत भोट हाल्न नपाएको स्मरण गर्दै उनले पछि आन्दोलनमार्फत् पुरूषले भोट हाल्न पाएपनि महिलाले भोट हाल्न नपाएको स्मरण गरे ।
त्यसपछि महिलाहरूले आन्दोलन गरी भोटको अधिकार सुरक्षित गरे जस्तै अहिले पनि विभिन्न अधिकारका लागि आन्दोलन भइरहेको उनको भनाई छ ।
प्रदेश प्रमुख तुम्बाहाङले नेपालमा मानव अधिकार आन्दोलन स्थापित हुने क्रममा रहेको र त्यसमा इन्सेकको भूमिका उल्लेखनीय भएको बताए ।
सो अवसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालको संविधान मानव अधिकारमैत्री भएको बताए । मुख्यमन्त्री राईले मानव अधिकारको पूर्ण प्रत्याभूति र संविधानमा व्यवस्था भएका व्यवस्थालाई अक्षरस पालना गर्दै जनताको अधिकार स्थापित गर्न प्रतिबद्ध रहेको बताए ।
मन्त्री राईले आन्दोलनमार्फत जनताको अधिकार स्थापित गर्ने क्रममा शहीद भएकाहरूको भूमिकालाई प्रदेश सरकारले सम्मानस्वरूप विभिन्न कार्यक्रमहरू अघि सारेको बताए ।
इन्सेककी अध्यक्ष डा.इन्दिरा श्रेष्ठले इन्सेकले नेपालमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूलाई अभिलेख गरेर नेपालमा मानव अधिकारको अवस्था चित्रण गर्दै आएको बताइन् ।
अध्यक्ष श्रेष्ठले समाजमा महिला र बालबालिकाका हिंसाका घटनाबाट बढी पीडित भएका र महिला र बालबालिकाको साथै अन्यको अधिकार रक्षाको क्षेत्रमा योगदान गर्नेहरूलाई इन्सेकले सदैव हौसला प्रदान गर्ने र सोही क्रममा मोरङका गुरुप्रसाद बराललाई सम्मान गरेको बताइन् ।
पुरस्कार वितरण समारोहमा आफ्ना धारणा राख्ने क्रममा इन्सेकका संस्थापक अध्यक्ष तथा राष्ट्रपतिका राजनीतिक एवम् मानव अधिकार विज्ञ सुशील प्याकुरेलले इन्सेकले मानव अधिकारको क्षेत्रमा छुट्टै पहिचान बनाएको र मानव अधिकारको परिभाषालाई जीवन्त तुल्याउनेहरूलाई खोजी–खोजी पुरस्कार वितरण गरेर सिङ्गो मोतिमाला बनाउन लागेको बताए ।
नेपालको मानव अधिकार रक्षाको अभियानमा स्व.प्रकाश काफ्लेको योगदानको चर्चा गर्दै प्याकुरेलले इन्सेकले प्रकाशले देखेको सपनालाई सार्थक तुल्याउन नेपालमा मानव गरिमा रक्षाका लागि निरन्तर अभियान चलाएको बताए ।
प्याकुरेलले नेपालमा निर्वाचनलाई स्वच्छ बनाउनका लागि स्व.प्रकशले निर्वाचन पर्यवेक्षणको पहिलो अभियान थालेको र सोही अभियानलाई अहिले विश्वका केही देशहरूले अनुशरण गरी निर्वाचन पर्यवेक्षण गर्न थालेको बताए ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य तथा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य जयराम यादवले मानव अधिकारले लिङ्ग, जात, रङ्गका आधारमा हुने सबैखाले भेदभावको अन्त्य भएमात्रै मानव अधिकारको सही रूपमा प्रत्याभूति हुने बताए ।
इन्सेकका निर्वतमान अध्यक्ष एवम् प्रदेश १ नीति तथा योजनाका आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले पूर्ण मानव अधिकारकर्मी मात्र नभई अन्य क्षेत्रमा लागेर जनताको हक अधिकारका लागि जनतालाई नै परिचालन गरी मानव अधिकारको प्रत्याभूति गराउनेलाई इन्सेकले सम्मान गर्ने गरेको बताए ।
सो अवसरमा उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले कुनै पनि दाग नलागी राजनीति गर्दै आउनु भएका बरालले शिक्षाको क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै इन्सेकले अभियान र अभियानकर्तालाई राम्रोसँग चिनेर सम्मान गरेको बताए ।
सम्मानित व्यक्तित्व गुरु बरालले अहिले पनि धेरै बालबालिका गुणस्तरीय शिक्षाबाट वञ्चित भएको बताए । उनले सरकारले प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षा प्रदान नगरेका कारण गरिबीको रेखा माथि उक्लन नसकेको बताए ।
इन्सेकले मानव अधिकारभित्र सामाजिक, सांस्कृतिक, आर्थिक अधिकार उद्घोष गरेर काम गर्दै आएकोले धन्यवाद दिए । इन्सेकले प्रदान गरेको ५० हजार रुपियाँको पुरस्कार राशीलाई सामुदायिक विद्यालयको गुणस्तर सुधारमा लगाउने बताए ।
सो अवसरमा पुरस्कृत व्यक्तित्वको बारेमा छनौट समिति संयोजक रहेका इन्सेकका महासचिव रमेशचन्द्र पौडेलले चर्चा गरे ।
कार्यक्रममा बरालले पुर्याएको योगदानको बारेमा इन्सेकले तयार पारेको वृत्तचित्र समेत प्रर्दशन गरिएको थियो ।







