गुल्मीको पहिरो प्रभावित क्षेत्रमा खानेपानी सङ्कट देखिएको छ । पहिरोले मूल, ट्याङ्की र पाइप बगाएपछि सत्यवति गाउँपालिका–१ अस्लेवा गाउँ र वडा–३ ठुलोलुम्पेकमा एक खानेपानी समस्या देखिएको हो ।
साउन ६ गते परेको वर्षासँगै आएको पहिरोले दुवै ठाउँका साना ठुला सबै मुहान बगाएपछि खानेपानी समस्या देखिएको हो ।
जसका कारण अस्लेवा र लुम्पेकको सिङ्गो गाउँका नागरिकले दुषित पानी पिउन बाध्य भएको अस्लेवाका नागरिक अगुवा भेषराज पाण्डेले बताए ।

पहिरोले घर जोखिममा परेपछि सत्यवति गाउँपालिका–३ का झण्डै ४ सय परिवार विस्थापित भएका छन् । उनीहरूलाई अस्लेवा र लुम्पेकका विभिन्न विद्यालयमा व्यवास्थापन गरिएको छ ।
खानेपानी सङ्कटबाट सबैभन्दा बढी विस्थापित परिवार समस्यामा परिरहेको धर्मपुर माविका सहायक प्रध्यानाध्यापक जुक्तबहादुर थापाले बताए ।
धर्मपुर माविमा २ सय ५०, अस्लेवाको राम माविमा ९५ जना तथा अन्य विद्यालयमा पनि ६०/७० जनाका दरले विस्थापित परिवार भएकाले खाना पकाउन, पीउन, भाँडा माझ्न, लुगा धुन तथा नुहाउन निकै मुस्किल परेको थापाले बताए ।
‘सुरूको दिन खाने कुरा त थिएन नै, पिउने पानी समेत पाएनौँ ।’–विस्थापित इन्द्रकला बिकले भनिन्–‘अहिले खुल्ला अस्थायी मुलको पानी पीउन बाध्य छौँ ।’–उनले भनिन् ।
यसैगरी लुम्पेकको मराङदी खानेपानी मुल पहिरोले बगाएको कारण कुर, सिङदी, लाचेघार डाँडाका स्थानीय पानी खोज्दै हिँडनुपर्ने बाध्यता रहेको प्रगति रानाले बताइन् ।
उनले मूलमा ठुलो क्षति भएकाले भर्खरै समाधानको कुनै पहल नभएको बताइन् । अहिले अस्थायी मूलको पानी ल्याएर विस्थापितलाई खानेपानी खुवाउने काम भएको रानाले बताइन् ।
ठुलोलुम्पेक स्वास्थ्यचौकी प्रमुख गिरु तरामु मगरले खानेपानी सङ्कट भएपछि मूलको पानी उमालेर खान सुझाव दिइएको बताए ।