सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकको सिद्ध आधारभुत प्रावि र खोप केन्द्र पहिरोले बगाएको छ । जसका कारण लुम्पेक सिङदी गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ ।
गत साउन ६ गते अविरल वर्षासँगै आएको पहिरोले सिद्ध आधारभुत प्राविको चार कोठे भवनलाई बगाएको छ भने अर्को चार कोठे भवनको माथिल्लो तल्ला पुरिएको विद्यालयकी प्रध्यानाध्यापक ज्ञानमाया तरामुले बताइन् ।
विद्यालयभन्दा केही तलबाट पनि पहिरो गएको छ भने खेल मैदानमा पहिरोले भरिएको छ । सिद्ध आधारभुत प्राविमा ५१ जना विद्यार्थीले अध्ययन गर्दै आएका थिए । पहिरोले पक्की भवनसँगै डेक्स बेन्चलगायत अरू शैक्षिक सामग्री बगाएको छ ।
विद्यालय वरिपरी कोहि विद्यार्थी र अभिभावक बस्दैनन् । अहिले एक महिने बर्खे बिदा छ । साउन २८ गतेबाट विद्यालय सञ्चालन गर्नुपर्नेछ ।
तर, एउटा भवननै नभएको र भएको भवनमा पनि पढाई सञ्चालन गर्ने स्थिति नभएकाले विद्यार्थी पठनपाठन अन्यौलमा रहेको वडा सदस्य अर्जुन तरामुले बताए ।
पहिरोले विद्यालय मात्रै पहिरोले बगाएको छैन । सिद्ध प्राविमा पढ्ने विद्यार्थीहरूको घरमा पनि पहिरोले क्षति पुर्याएको छ ।
कैयौँ विद्यार्थी र परिवार विस्थापित छन् । सोही विद्यालयको कक्षा ४ मा अध्ययन गर्ने लिजा तरामुले बाबा–आमासँगै सबै परिवार धर्मपुर माविमा आएर बसेको बताइन् ।
उनले विद्यालय पहिरोले लगेकाले विद्यालय र घर दुवै ठाउँमा पढ्ने स्थिति नरहेको बताइन् । अहिलेबाटै विद्यालयको विषयमा नसोचे व्यावस्थापनमा समस्या हुने स्थानीय शिक्षक दुर्गाबहादुर तरामुले बताए ।
त्यस्तै पहिरोले साविको वडा नं ६ को स्वास्थ्य खोप केन्द्र बगाएको छ । दुई कोठे खोपकेन्द्रसँगै प्राथमिक उपचारका औषधि, उपकरण र फर्निचरका सामानहरू पहिरोले बगाएको महिला स्वास्थ्य स्वयम्सेविका दिलमाया तरामुले बताइन् । उनले गर्भवति, सुत्केरीको नियमित चेकजाँच तथा अन्य प्राथमिक उपचार प्रभावित भएको बताइन् ।

