INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले विस्थापित परिवारको बिचल्ली, गर्भवतिदेखि बृद्धबृद्धा बढी प्रभावित (फोटोफिचर)

यममाया गाहा । सात महिनाकी सुत्केरी हुन् । उनी पाँच दिनदेखि धर्मपुर शिविरमा छन् । पहिरोले घरगोठ घेर्‍यो । फेरि ठुलो पानी परेको छ । त्यो पनि रहँदैन ।

बच्चा खोकिलामा च्यापेर यममायाले त्यसैदिन परिवारसँगै घर छोडिन् । आठ जनाको परिवार धर्मपुर माविमा बस्दै आएको छ ।

‘सुत्केरी भनेर अर्को विकल्प छैन दैनिक दाल भात नै खाएका छौँ बरु कहिलेकाहिँ पुग्दैन ।’–उनले गुनासो गरिन्–‘चिसो भुइँमा एक सरो कपडा ओढेर बच्चासँग रात काटेकी छु ।’

लेकमा चिसो मौसम र प्राप्त कपडाहरू नभएकाले आफू र बच्चालाई निकै समस्या परेको यममायाले बताइन् ।

उनीसँगै ११ महिनाको छोरासहित सुश्मा सुनार पनि शिविरमै छिन् । उनले सानो बाबुसँगै शिविरमा खानपान गर्न र सुत्न निकै मुस्किल परेको गुनासो गरिन् ।

पहिरोले घर जोखिममा परेपछि शिविर आएका ९० वर्षीय धनसिहं बिकलाई दिन कटाउन मुस्किल परेको छ ।

बिकले धर्मपुर माविको बेन्चमै बसेर पछिल्ला दिन कटाएका छन् । ‘मर्ने बेलामा दैव लाग्यो घरमा बस्न दिँदैनन् । स्कुलमा के खाएर कसरी बच्ने ?’–धनसिंहले भने–‘घरको न घाटको भएर मर्ने भएँ ।’

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकमा यहि साउन ७ गतेको वर्षासँगैको पहिरोले ठुलो जनधनको क्षति पुर्‍याएको छ ।

पाँच जनाको ज्यान गयो । घाइते दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । झण्डै ४ सय परिवार विस्थापित भएका छन् ।

पहिरोले गाउँ घेरेको छ । वर्षासँगै पहिरो जाने क्रम अझै रोकिएको छैन । बर्खे बिदाका कारण तत्काल विस्थापित परिवारलाई विभिन्न विद्यालयमा व्यावस्थापन गरिएको छ ।

विद्यालय सञ्चालन गर्ने समय नजिकएकाले विस्थापित परिवारलाई व्यावस्थापन गर्नु नै अबको चुनौती रहेको वडा नं ३ का वडाध्यक्ष रुकबहादुर रानाले बताए ।

अहिले ठुलोलुम्पेकको पहिलो चुनौती पहिरो प्रभावितको सुरक्षित व्यावस्थान हो । पीडित व्यक्तिहरूले लुम्पेकको भुगर्वविद्हरूले अध्ययन गरेर सुरक्षित स्थान पत्ता लगाए आफूहरूले टेण्ट लगाएर बस्ने बताउँछन् ।

‘चारै तिरबाट पहिरोले घेरेको छ । घर गए बाँचेर फर्किने सम्भावना छैन । कति दिन विद्यालयमा बस्नु ?’–सबैभन्दा बढी पहिरो प्रभावित सिङदी गाउँका प्रकाश बिकले भने–‘राज्यले बस्ने ठाउँ बताउनु पर्‍यो ।’

उनले छिटोभन्दा छिटो आफूहरू बस्ने स्थानको टुङ्गो लगाउन माग गरे । गाउँ घर पनि जान नदिने र सही व्यावस्थापन पनि नगर्दा थुप्रै परिवारको बिचल्ली भएको बिकको आरोप छ ।

सिङदीकै टीका तरामुले १५ दिनमै ४ सय परिवारको व्यावस्थापन गर्न नसके विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको बताए ।

उनले घर, सम्पति, दुहुना भैँसी र बाख्रा बेवारिस छोडेर आएका स्थानीयलाई सही समयमा सुरक्षित बनाउन नसके जोखिम मोलेरै घर फर्काने स्थिति रहेको बताए ।

ठुलोलुम्पेकमा खाद्य सङ्कटसमेत देखिएको छ । असार मसान्त नजिकएकाले पहिरो जानुभन्दा धेरै पहिलेबाट गाउँले व्यापारीको पसलमा स्टक सामान थिएन ।

त्यसपछि लगत्तै ट्रक आन्दोलन र पहिरोका कारण सडक अवरूद्ध हुँदा गाउँमा किनेर खाने एक बोरा चामल र दाल छैन ।

लुम्पेककमा दैनिक ४ सय विस्थापित परिवारलाई बिहान साँझ खुवाउनुपर्ने बाध्यता छ । ‘मन्त्रीज्यूले हेलिकप्टरमा नल्याएको भए भोकले मरिन्थ्यो अहिले त्यो पनि भ्याए ।’–वडा सदस्य अर्जुन तरामु मगरले भने–‘गाडीबाट ल्याउन बाटोको नाम निशान छैन ।’

उनले अहिलेसम्म केन्द्रबाट आएको २० क्विन्टल चामल, दाल र चिउरा बाहेक केही राहत गाउँ नआएको बताए ।

अब विस्थापित परिवारसँगै गाउँमै खाद्य सामग्री सङ्कट रहेको बताए । बाटो अवरूद्ध भएका कारण राहत अस्लेवामै थन्किएको छ ।

दुई वटा डोजरको प्रयोग गरेर सडक सञ्चालनको पहल भएकाले खाद्य सङ्कट समाधान हुने सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए ।

पहिरो प्रभावित क्षेत्रमा महामारी फैलने सम्भावना बढेको छ । पहिरोले बगाएका पशु चौपायको सही व्यावस्थान नहुँदा दुर्गन्ध फैलिएको छ ।

दुर्गन्धसँगै धेरै सङ्ख्याका विस्थापितमा पानी तथा अन्य खानेकुराबाट स्वास्थ्य समस्या आउने सम्भावना रहेको सिद्ध आधारभुत प्राविका प्रध्यानाध्यापक ज्ञानमाया तरामुले बताइन् ।

उनले राम्रो खानपान नभएकाले सुत्केरी, गर्भवति, बालालिका र बृद्धबृद्धालाई स्वास्थ्य समस्या देखिन थालेको बताइन् ।

‘धर्मपुर माविका साढे २ सय विस्थापितलाई एउटा चर्पी छ । बिहान कति जना लाइन लाग्ने ?’–उनले भनिन्–‘बारीबारी दिसापिसाब गरेर बेहाल छ ।’

photo20190727gulmi (1)

photo20190727gulmi (2)

photo20190727gulmi (3)

photo20190727gulmi (4)

photo20190727gulmi (5)

photo20190727gulmi (6)

photo20190727gulmi (7)

photo20190727gulmi (8)

photo20190727gulmi (9)

photo20190727gulmi (10)

photo20190727gulmi (11)

photo20190727gulmi (12)

अन्य

भिडियो