ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका-१ स्थायी घर भई भोजपुर नगरपालिका-१ स्थित सगरमाथा अङ्ग्रेजी माध्यमिक विद्यालयमा अङ्ग्रेजी र गणित पढाउने २८ वर्षीय शिक्षक अतित अधिकारीलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका प्रिन्सिपल रमेशकुमार आलेविरूद्ध असार २९ गते प्रहरीमा उजुरी परेको छ ।
कोट र टाई नलगाई विद्यालयमा आएको भन्दै असार २९ गते कुटपिट गरेको आरोपमा पीडितले प्रहरी, प्रशासन, जिफण्ट र नेपाल पत्रकार महासङ्घ शाखा कार्यालय भोजपुरमा उजुरी दिएका हुन् ।
प्रिन्सिपलले कोट, टाई नलगाई विद्यालय आएको आरोप लगाउँदै कक्षा कोठा बाहिर ल्याएर कुटपिट गरेको पीडित अधिकारीको आरोप छ ।
प्रिन्सिपलले कुटपिट गर्नुका साथै एक महिनाको पारिश्रमिकसमेत नदिएको पीडितले आरोप लगाए । पीडित अधिकारीले विद्यालयले नियुक्तिपत्र नदिई काम लगाउँदै आएको आरोप लगाएका छन् ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले पीडितले आरोपितमाथि कारवाही माग गर्दै प्रशासनमा उजुरी दिएको बताए । खतिवडाले शिक्षा समन्वय एकाईमा समन्वय गरी समस्या समाधानका लागि लेखी पठाएको बताए ।
यसैबीच नेपाल शिक्षक महासङ्घ भोजपुरका अध्यक्ष तीर्थकुमार राईले श्रमजीवीलाई नियुक्ति पत्र नदिई काममा लगाएर प्रिन्सिपल आलेले आर्थिक अधिकारको हनन् गरेको प्रतिक्रिया दिए ।
आरोपित प्रिन्सिपलले भने बाहिर कुरा आएजस्तो नभएको र सामान्य ढङ्गले शिक्षक अधिकारीलाई सम्झाएको बताएका छन् ।