INSEC Online

📅 २०८३ जेष्ठ २१

डेस्क बेन्च तथा कोठा अभावमा भुइँमा बसेर पढ्न बाध्य

विद्यालयमा आवश्यक कक्षा कोठा तथा डेस्कबेन्चको अभावका कारण विद्यार्थीहरूले घरबाटै बोरा बोकेर नल्लाए चिसो भुइँमा बसेर पढ्नु पर्ने बाध्यता रहेको छ ।

चन्द्रपुर नगरपालिका–७ नयाँबस्ती स्थित रहेको जनता आधारभूत विद्यालयका करिब १ सय ५० भन्दा बढी विद्यार्थीहरू बिहान विद्यालय आउँदा किताब कपी सँगसँगै हातमा बोरा पनि लिएर आउँछन् ।

त्यसपछि कोही कक्षा कोठा भित्र अनि कोही बाहिर चौरमा बोरा ओछ्याएर त्यसमा बसेर पढाई सुरू गर्छन् ।

मुख्यगरी यस विद्यालयमा विपन्न तथा दलित परिवारका बालबालिकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक रामाधार साह बताउँछन्् ।

विद्यालयमा डेस्कबेन्च पर्याप्त नहुँदा विद्यार्थीहरू भुइँमा बोरामा बसेर अध्ययन गर्नु परेको गुनासो साहको छ ।

विद्यालयमा कक्षा कोठा एवम् विद्यार्थीलाई बस्नको लागि डेस्कबेन्चको व्यवस्था गर्न स्थानीय तह वा अन्य सरकारी निकायलेहरूले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘डेस्कबेन्चको अभावमा विद्याथर््ीहरू भुइँमा बोरा ओछ्याएर पढनु पर्दा सिकाई प्रभावकारी हुन सकेको छैन ।’–उनले भने–‘यो समस्याको समाधानको लागि सबैले पहल गर्नु अत्यावश्यक छ ।’

‘हुनेखाने र धनीका छोराछोरी निजी विद्यालय र सुविधा सम्पन्न विद्यालयमा पढ्छन् तर हामी गरिवका छोराछोरी भने भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य छन् ।’–अभिभावक दिपेन्द्र तिवारीले दुःखेसो गर्दै भने–‘राज्यले पनि हुने खानेको लागि मात्र हेर्दोरहेछ । हामी गरिवलाई त राज्यले पनि वास्तै गर्दैन ।’

यसरी अव्यवस्थित ढङ्गबाट गरिएको अध्ययनबाट आफ्ना बालबालिकाको पढाइ र भविष्य के हुने हो भन्ने चिन्ता लागेको अभिभावक दुलारी साहले बताइन् ।

चन्द्रपुर नगरपालिका–७ का वडा अध्यक्ष कृष्णप्रसाद उप्रेतिले यो अर्थिक वर्षमा विद्यालयमा डेस्कबेन्चका लागि केही बजेट छुट्याएको बताए । अर्को आर्थिक वर्षमा विद्यालय भवन निर्माणका लागि बजेट छुट्याएर काम गर्ने उनले प्रतिबद्धता जनाए ।

चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले विद्यायललाई व्यवस्थित गर्नका लागि वडालाई निर्देशन दिने र अपुग भए नगरपालिकाको तर्फबाट आर्थिक सहयोग गरी व्यवस्थित विद्यालय बनाउन पहल गर्ने बताए ।

photo20190715rautahat (1)

photo20190715rautahat (2)

अन्य

भिडियो