बथनाहा गाविस-४ का ४५ वर्षीय गङ्गा महतोलाई कात्तिक २३ गते दिउँसो प्रहरीले नियन्त्रणमा बथनाहा प्रहरी चौकीमा मरणासन्न हुने गरी यातना दिएको पीडितका भाइ त्रिवेणी महतोले आरोप लगाएका छन् ।
पीडित महतोलाई उपचारका लागि कात्तिक २४ गते बिहान भारतको सितामढी लगिएको उनका भाइले आफन्तले जनाएका छन् ।
आर्थिक लेनदेनको विषयमा मुद्दा चलिरहेको बेला पीडित महतोले मदिरा सेवन गरी सार्वजनिक रूपमा विपक्षीहरूलाई गालीगलौज गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले यातना दिएको पीडित पक्षको आरोप छ ।
कुटपिटबाट पीडितको पिठ्युँ, तिघ्रा र पैतालालगायतका शरीरका विभिन्न अङ्गमा निलडाम भएको छ । जलेश्वर अस्पतालमा उपचार सम्भव नदेखिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको पहलमा थप उपचारको लागि भारत लगिएको प्रहरीले जनाएको छ ।
मानव अधिकार रक्षक सञ्जाल महोत्तरीले घटनाका विषयमा ध्यानाकर्षण भएको जनाउँदै घटना हुनुको कारण खोजी गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेको छ । प्रहरीले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
बथनाहा प्रहरी चौकीका इञ्चार्ज असई शम्भुप्रसाद साह र उनको टोलीलाई घटनाबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा झिकाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर गोबिन्द खनालले बताएका छन् ।