जिल्ला अस्पताल, डडेल्धुरामा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः आक्रमण भएको भन्दै अस्पतालका चिकित्सकहरूले असार २६ गतेदेखि आकस्मिक सोववाहेक अन्य नियमित सेवा ठप्प पारेका छन् ।
अस्पतालको आकस्मिक सेवावाहेक अन्य सेवाहरू ठप्प भएपछि यस क्षेत्रका सेवाग्राहीहरूले पुनः समस्या झेल्नु परेको छ ।
अमरगढी नगरपालिका–११ का रमेश खड्काको असार २५ गते पोष्टमार्टम गरिरहेका बेला अमरगढी नगरपालिका–११ का वडाअध्यक्ष सूर्यप्रकाश खड्काको नेतृत्वमा आएको भीडले आफूहरूमाथि आक्रमण गरेको अस्पतालमा कार्यरत चिकित्सकको आरोप छ ।
अमरगढी नगरपालिका–११ का वडाध्यक्ष सूर्यप्रकाश खड्काले आन्दोलनको नेतृत्व आफूले नगरेको र आफ्नो वडाका नागरिकले गल्ती स्वीकार गर्दै डाक्टरहरूसँग माफी मागिसकेको बताए ।
उनले भने–‘केही दिन अगाडि दुर्घटनामा घाइते भएका एक जना व्यक्ति उपचारका क्रममा भारतमा मृत्यु भएको थियो । बिमा रकम दावीका लागि पोष्टमार्टम गर्न डडेल्धुरा अस्पतालमा ल्याइएको थियो । शव अस्पतालमा ल्याएको पाँच घण्टा भइसक्दासमेत पोष्टमार्टम नभएको भन्दै स्थानीयहरू आन्दोलित भएका थिए ।’
चिकित्सकहरूले दिएको ठाडो निवेदनकै आधारमा पनि प्रशासनले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको र कानुन अनुसार जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता भएमा दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए ।
घटनामा संलग्न व्यक्तिहरूलाई कारवाही नहुँदासम्म नियमित सेवामा फर्कन नसक्ने जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएर असार २५ गतेदेखि नै चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।
चिकित्सकमाथि भएको आक्रमणका सम्बन्धमा छलफल गर्न असार २६ गते जिल्ला समन्वय समितिको नेतृत्वमा सर्वपक्षीय बैठकसमेत सम्पन्न भएको छ ।
सर्वपक्षीय बैठकमा चिकित्सकहरूले आफूहरूमाथि बेलाबेला आक्रमण भइरहेकाले दोषीलाई कारवाही तथा आफूहरूको सुरक्षाको पूर्ण प्रत्याभूति नगरेसम्म सेवामा नफर्कने अडान राखेका छन् ।
डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकको सुरक्षाको सुनिश्चितता नभएको भन्दै सरकारी चिकित्सक सङ्घ, नेपाल (गोदान)का अध्यक्ष डाक्टर दीपेन्द्र पाण्डे र महासचिव डाक्टर रविन खड्काले विज्ञप्ति जारी गरी डाक्टरहरूलाई सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हाजिर हुन आग्रह गरेका छन् ।