INSEC Online

📅 २०८३ जेष्ठ २२

मुद्दामा ‘होस्टाइल’ हुनेलाई पन्ध्र दिन कैद !

आफैँले दिएको बहुविवाह मुद्दामा ‘होस्टाइल’ हुने एक महिलालाई जिल्ला अदालतले १५ दिन कैद र १० हजार रुपियाँ जरिवाना गरेको छ ।

सुर्खेत जिल्ला गुर्वाकोट नपा–१६ गुमीकी २१ वर्षीया लक्ष्मी राईले २५ वर्षीय पति दिनेश पुन मगरले दोश्रो विवाह गरेको भनी दिएको मुद्दामा ‘राम्रै नबुझी मुद्दा दिएको’ भनी होस्टाइल भएको कसुरमा दैलेख जिल्ला अदालतले असार २२ गते सो फैसला गरेको हो ।

नुवाकोट माइती भएकी २१ वर्षीया लक्ष्मी राईले जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी जवान पुनमाथि आफू माइतीमा बस्दै गरेको बेला गत पुस ९ गते दैलेखमा बहुविवाह गरेको भन्दै चैत १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । त्यस आधारमा दिनेश पुन माथि बहुविवाह मुद्दा लगाइएको थियो ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ बमोजिम आफैँले दिएको जाहेरीको खण्डन् गर्दै रिसिइवीले मुद्दा दिएको भन्ने बयान दिएकी जाहेरवाली लक्ष्मी राईलाई १५ दिन कैद गर्ने र १० हजार रुपियाँ क्षतिपूति दिनेश पुनलाई लक्ष्मीले तिर्नुपर्ने फैसला भएको सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए ।

दिनेशसँग बहुविवाह गरेको भनिएकी १७ वर्षीया बालिका समेतलाई चैत १ गते गिरफ्तार गरेकोमा अनुसन्धान सकेर प्रहरीले चैत २१ गते दैलेख जिल्ला अदालतमा बहुविवाह मुद्दा पेश गरेको थियो ।

अदालतले आरोपितमध्ये दोस्री पत्नी हुन आएकी भनिएकी बालिकालाई साधारण तारेखमा छोडेको र दिनेश पुनलाई पुर्पक्षका लागि कारागार थुनामा राखेको थियो ।

फैसलाले आरोपित दिनेश पुन र उनसँग विवाह गरिएकी भनिएकी बालिकालाई सफाई पाएका छन् । यो मुद्दामा उजुरीकर्ताको पक्षबाट जिल्ला सरकारी वकील द्रोण पौडेल र आरोपितहरूको तर्फबाट प्रतिरक्षा वकालत अधिवक्ता सुरेन्द्र अधिकारीले गरेका थिए ।

अन्य

भिडियो