द्वन्द्वकालिन समय ०६१ सालमा माओवादी विरुद्धको प्रतिकार समूहका अगुवाई गरेका र तत्कालिन माओवादीका नेताहरूको हत्या आरोप लागेपछि फरार रहेका शुद्धोधन गाउँपालिका–६ का करिव ५५ वर्षीय नशिम खाँलाई प्रहरीले गिरफ्तार गरी असार २२ गते जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
शुद्धोधन गाउँपालिका–५ हथिहवाका तत्कालिन मोओवादीका जिल्लास्तरीय नेताहरू राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोवी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मी र एक जना बालकको अपहरणपछि हत्या गरेको आरोप लागेको र फरार रहेका नसिम खाँ अन्तत्वगोत्वा काठमाडौँबाटै गिरफ्तारीमा परेका छन् ।
कपिलवस्तु प्रहरीले मोष्टवाण्टेड सूचीमा राखेका नसिम काठमाडौँमा १० दिनदेखि बस्दै आएका थिए । विभिन्न हत्या आरोपमा प्रहरीको खोजी सूचीमा रहेका उनी सिआइविको टोलीबाट गिरफ्तारीमा परेका हुन् ।
विगतमा विभिन्न सशस्त्र समूहमा रहेर घटना घटाएका खाँ तराईका सशस्त्र समूहसँग राज्यले गरेको वार्ताका पहल पछि हतियार बुझाएर सार्वजनिक भएका थिए ।
तर, उनी माथि विभिन्न जघन्य अपराधका मुद्दा अदालतमा दर्ता भएको र ती मुद्दाको सिलसिलामा प्रहरीले पुनः गिरफ्तार गर्ने सङ्केत पाएपछि उनी ३ वर्ष अघि एक सार्वजनिक कार्यक्रममा एसपी र सिडिओकै सामुन्नेबाट स्थानीय नागरिकको घेराबन्दीमा पुनः फरार भएका थिए ।
तत् पश्चात उनी भारतमा बस्दै आएका थिए । यता एक वर्षअघि मायादेवी–४ का वडाध्यक्ष फत्ते मोहमदका सात वर्षीय छोरा आयान खाँको एकवर्ष अघि हत्या गरेको समेत आरोप लागेको छ ।
उनकी पत्नी फौजिया नसिम खाँ नेकपाबाट प्रदेश सभा ५ मा समानुपातिक सांसद बनेपछि उनी सरकारसँग विभिन्न पहल अघि बढाउँदै शान्ति पूर्ण राजनीतिमा आउने निरन्तर प्रयास जारी राखेका थिए ।
तर, नेकपाको सरकारले उनी सहित अहिले पनि फरार रहेर भारतमै बस्दै आएका प्रितम पाण्डे लगायतलाई तत्काल कुनै वार्ता गरी मुद्दा फिता गर्ने सहमति भएको थिएन ।
फलस्वरुप विभिन्न माध्यम लगाएर शान्ति प्रकृयामा आउने पहलकै लागि राजनधानीमा पुगेका बखत एक होटलबाट नसिम गिरफ्तारीमा परेको उनको पारिवारिक श्रोतले जनाएको छ ।
प्रहरीले असार २२ गते पत्रकार सम्मेलन गरी एसपी दिप शम्सेर जबराले नसिम खाँको गरेका अपराधका विषयमा जानकारी गराउँदै मोष्ट वान्टेड खाँलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको जानकारी दिएका छन् ।