हिलिहाङ गाउँपालिका–६ का निर्माण व्यवसायी ३५ वर्षीय रविन्द्र लावतीलाई असार १६ गते इलाका प्रहरी कार्यालयका सई भीम थेबेले कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
हिलिहाङ गाउँपालिकाको कार्यालय नजिकै भएको एक कार्यक्रममा दुई जनाबीच विवाद हुँदा सई थेबेले कुटपिट गरेको पीडितको आरोप छ ।
सई थेबेले लावतीले आफूविरूद्ध नकारात्मक हल्ला फैलाएको र सोको बारेमा सोधखोज गर्दा पहिले हात लगाएपछि नियन्त्रण गर्ने क्रममा घटना भएको बताए । स्थानीयले भने सई थेबेले पीडितलाई नियन्त्रणमा लिइसकेपछि कुटपिट गरेको बताएका छन् ।
शरीरभरी निलडाम लागेका पीडित र नाकमा चोट लागेका सई दुवै जनाको उपचार असार १६ गते जिल्ला अस्पतालमा गरिएको छ ।
प्रहरीले पीडितलाई असार १६ गते नै गिरफ्तार गरेको छ । घटनाको सत्य तथ्य पत्ता लगाउन दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र अनुसन्धान भइरहेको सो कार्यालयका डिएसपी नरेन्द्र कुँवरले बताए । अनुसन्धानमा प्रहरीको गल्ती देखिए कानुन अनुसार कारबाही गरिने पनि उनले बताए ।