छथरजोरपाटी गाउँपालिकास्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलकी शिक्षक यशुन ओझाको कुटपिटबाट असार ११ गते तीन जना छात्रा घाइते भएका छन् ।
पाइपले कुटपिट गर्दा कक्षा १० मा अध्ययनरत चन्द्रकला मगर, विभुति सुब्बा र अस्मिता मगर घाइते भएका हुन् ।
प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि छात्रालाई शरीरका विभिन्न अङ्गमा कुटपिट गरिएको पीडितहरूले आरोप लगाएकाछन् ।
कुटपिटबाट छात्राहरूको पिँडुला, हात र पिठ्यूँमा निलडाम रहेको छ । पाइपले कुटपिट गर्न थालेपछि आउने उत्तर पनि त्रासका कारण बिर्सिएको घाइते छात्रा विभुतिले बताइन् । ओझाले विगत देखि नै कुटपिट गर्ने गरेको उनीहरूले बताए ।
दुखाइकाकारण राति निधाउन पनि नसकेको अभिभावक गीताले बताइन् । उनले भनिन्–‘सुरूमा अप्ठेरो गरेर हिँडेको देखेपछि सोधपुछ गर्दा अन्यत्र पनि निलडाम देखेँ ।’
छोरीलाई गोरु जस्तै चुटेको उनले बताइन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको थियो । दुखाइ कम हुने औषधि सेवनपछि हिँडडुलमा सहज भएको घाइतहरूले बताए।
असार १२ गते विद्यालयमा पुगेका घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षकलाई कारवाही गर्न माग गरेका छन् ।
पीडित पक्षले शिक्षकलाई निष्काशन, उपचार खर्च व्यहोर्नु पर्ने लगायतका माग अघि सारेको छ । विद्यालय प्रशासन, व्यवस्थापन समिति र घाइते विद्यार्थीका अभिभावकबिच छलफल गरिएपनि निष्कर्षमा पुग्न सकेको छैन ।
घटनाबारे विद्यालयका प्रिन्सिपल साधना भुजेलले पढ्न कमजोर विद्यार्थीलाई निजी विद्यालयले डरत्रास देखाउनुलाई सामान्य रहेको बताइन् । तर, शिक्षक ओझाले गर्नै नहुने गल्ती गरेकोले अभिभावकको सामु क्षमायाचना दिन लगाएको बताइन् ।