ताँजाकोट गाउँपालिकाको धर्मोदय माविका विद्यार्थी खुला चौरमा परीक्षा दिन बाध्य भएका छन् ।
विद्यालयसँग आवश्यकता अनुसार कक्षा कोठा नभएपछि हाल सञ्चालन भइरहेको पहिलो त्रैमासिक परीक्षा दिन विद्यार्थीलाई चौरमा राखिएको हो ।
कक्षा कोठामा अट्ने अवस्था नभएपछि असार ५ गतेबाट विद्यालयमा सञ्चालन भइरहेको त्रैमासिक परीक्षामा चौरमा बसेर परीक्षा दिएको कक्षा १० का छात्र शुक्रराज शर्माले बताए । गर्मीले परीक्षा दिन केही असजिलो भएपनि दिनै पर्ने बाध्यता रहेको उनले बताए ।
खुला चौरमा परीक्षा दिँदा लेख्ने बेला अवरोध र दिमाग अन्तैतिर मोडिने गरेको कक्षा १० का छात्रा रेखा शाहीले बताइन् ।
यो विद्यालयको रहर नभएर बाध्यता भएको र आफूहरूले पनि जेनतेन परीक्षामा सहभागिता जनाइरहेको उनको गुनासो छ ।
कक्षा ६ देखि १० सम्म पढाई हुने उक्त विद्यालयमा पर्याप्त कक्षा कोठाको अभावका कारण चौरमा परीक्षा सञ्चालन गर्नु परेको विद्यालयका प्रधानाध्यापक गङ्गादत्त जैसीले बताए ।
विद्यालयसँग आवश्यकता अनुसार भवन नहुँदा कक्षा कोठाको अभाव भएको र भएका कक्षा कोठामा खाँदिएर बस्नुपर्दा परीक्षार्थीले लेख्न नसक्ने भएकाले खुला चौरमा परीक्षा सञ्चालन गर्नु परेको प्रअ जैशीले बताए ।
अहिले पनि कक्षा ६ लाई कक्षा कोठा नहुँदा मञ्चमा राखेर पढाउनु परेको र अन्य कक्षाको अध्ययनका बेला पनि विद्यार्थीहरू ५–६ जना एउटा बेन्चमा बस्दै आएका छन् ।
विद्यालयमा १ सय ९८ छात्रा र १ सय २६ जना छात्र गरी जम्मा ३ सय २४ जना विद्यार्थीले परीक्षा दिइरहेको विद्यालयले जनाएको छ । सो विद्यालय सदरमुकाम सिमकोटबाट करिब पाँच दिन पैदल लाग्ने गरेको छ ।
