सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसीको कर्तव्य ज्यानसम्बन्धी उजुरी प्रहरीले इन्सेक जिल्ला प्रतिनिधि नारायण भुसाललगायत अधिकारकर्मीहरूको पहलपछि मात्र जेठ ३१ गते दर्ता गरेको छ ।
प्रहरीले उजुरी लिन नमानेको भन्दै पीडित पक्षले सहयोगको माग गर्दै अधिकारकर्मी तथा इन्सेक जिल्ला प्रतिनिधि भुसाललाई जेठ १७ गते लिखित निवेदन पेश गरी सहयोगको आग्रह गरेको थियो ।
इन्सेक प्रतिनिधिसहित अन्य अधिकारकर्मीहरूसमेतको पहलमा ११६ नम्बरमा उजुरी दर्ता गरिएको छ । प्रहरीले उजुरी दर्ता गरी अनुसन्धानसमेत गथालेको जनाएको छ ।
जेठ १२ गते सन्धिखर्क नगरपालिका–१२ का ३३ वर्षीय विक्रम केसी सोही ठाउँको एक होटलमा मदिरा सेवन गरेको सुनेपछि लिन पुगेका विक्रमका बाबु काशिराज केसीले छोराको मुखबाट फिँज र रगत समेत आएको हुँदा प्रहरीको सल्लाह अनुसार थप उपचारको लागि प्रहरीकै सवारी साधनमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको लागि लगिएको पीडित पक्षले जनाएको छ ।
पीडितको उपचार जिल्ला अस्पतालमा हुन नसकेपछि प्रादेशिक अस्पताल बुटवल लगिएकामा उपचारको क्रममा मृत्यु भएको थियो । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।