आर्थिक अवस्था कमजोर भएका कारण उपचार हुन नसकेपछि इस्मा गाउँपालिका–६ अम्मरपुरका २० वर्षीय थम्मन कुमाल १० वर्षदेखि गोठमा दाम्लोले बाँधिएका छन् ।
कुमाल समुदायको बाहुल्यता रहेको उक्त गाउँमा ढुङ्गे घर नजिकै टिनको छाप्रोको गोठमा पशुसँगै उनको गोडामा दाम्लो बाँधिएको छ । उनी यसरी बाँधिएको १० वर्ष भयो ।
मानसिक समस्या रहेको र उपचारका लागि आर्थिक अवस्था कमजोर भएकाले उपचारको साटो पशुसँगै गोठमा बाँध्नु परेको पीडित कुमालका बुबा खिमबहादुर कुमालले बताए ।
थम्मन जन्मिदै शारीरिक रूपमा कमजोर थिए । १० वर्षको उमेर पुगेपछि भारतमा उपचार थालेको र बिस्तारै निको भएपछि आफहरू गाउँमा आएको खिमबहादुरले बताए ।
मानसिक समस्या भएकाले नबाँधे थम्मन गाउँ डुल्छन् । छिमेकीको घरगोठमा गएर बिगार गर्ने गर्छन् । जसका कारण गाउँलेहरूले पिट्ने, गाली गर्ने तथा आफूहरूलाई समेत तनाव दिने गरेकाले गोठमा बाँधेको आमा धनी कुमालले बताइन् ।
‘घरमा अपाङ्ग छोरो छ । काम नगरे चुलो बल्दैन । खुल्ला छोडे गाउँलेको टोकसो कति सुन्ने ? गोठमा बाँधेर काममा जान्छौँ । यो हाम्रो बाध्यता हो ।’–उनले भनिन् ।
धनी कुमालले आफूलाई गाउँलेले पापिनी भएकाले छोरो त्यस्तो भएको भन्दै हेप्ने गरेको गुनासो गरिन् ।
‘मलाई छोरोसँगै सुताइस भनेर गाउँलेले पापिनी समेत भने । बाध्य भएर आफ्नै छोरालाई दाम्लोमा बाँध्न थाल्यौँ ।’–उनले भनिन्–‘गाउँलेको हेपाई र पीडाभन्दा बरू मेरै अगाडि मरे हुन्थ्यो ।’
वर्षौँदेखि घाम, पानी र चिसो सहँदै आएका थम्मन बुबा–आमा काममा हिँडेपछि पानी पिउन समेत पाउँदैनन् ।
उनी दैनिक दिसा पिसाबसँगै मुछिएका हुन्छन् । साँझ कामबाट आफूहरू आएर मात्रै दिसा पिसाब सोर्ने र लुगा फेर्ने आमा धनी बताउँछिन् । राज्यबाट अपाङ्ग भत्ता मिलेको पाए पनि संरक्षण र उपचार आवश्यक रहेको आमा धनीले बताइन् ।
इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्ट सहितको टोलीले परिवारलाई भेटेर त्यसरी दाम्लोले बाँधेर काममा नजान आग्रह गर्नुका साथै छिमेकीलाई समेत सचेत बनाएको बताए ।
उपप्रमुख बिमला खत्रीले उपचार र उद्धारको निम्ति पहल पनि भइरहेको बताइन् । सोही वडाका अध्यक्ष हिरा जिसीले आफूलाई त्यो अवस्था धेरै पहिले जानकारी भएकाले परिवारलाई सम्झाए पनि नमानेको बताए ।





