त्रियुगा नगरपालिका–६ स्थित घनचक्रे आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले अस्वाभिक व्यवहार देखाउन थालेपछि जेठ २१ गतेदेखि २७ गते सम्म विद्यालय बन्द गरिएको छ ।
जेठ १७, १९ र २० गते नौ जना विद्यार्थी मुर्छा पर्ने, रूने, कराउने, दारा किट्ने, चिच्चाउने, थरथर काप्ने लगायतका ब्यवहार देखाउन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक नेत्र काफ्लेले बताए ।
विद्यार्थीहरूमा बिरामी हुने समस्या देखिएपछि नगर स्वास्थ्यकर्मीबाट चेकजाँच गराएको र स्वास्थ्यकर्मीको टोलीले केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेपछि एक साताका लागि विदा गरिएको विद्यालय प्रशासनको भनाई छ ।
विद्यालयका अनुसार कक्षा २ मा पढ्ने ६ वर्षीया सकुन्तला तामाङ, कक्षा ५ मा पढ्ने १० वर्षीया टिकाकुमारी तामाङ, सोही कक्षामा पढ्ने समीर राउत, कक्षा ४ मा पढ्ने टेकबहादुर बिक लगायतका विद्यार्थीले अस्वभाविक व्यवहार देखाएका छन् ।
जिल्ला अस्पतालका डाक्टर अशोक तिवारीले तनावका कारण यस्तो हुनसक्ने बताए । धेरै विद्यार्थीमा यस्तो समस्या एकैपटक देखिने भएकाले यसलाई डिस अर्डर मास हिस्टोरियाको क्याटगोरी मान्न सकिने बताए ।
धेरै होमवर्क र अभिभावकले घरमा पढपढ भन्दा विद्यार्थीले त्यसलाई ब्यवस्थापन गर्न नसक्दा यस्तो समस्या हुने गरेको डक्टर तिवारीको भनाई छ ।