INSEC Online

📅 २०८३ जेष्ठ २१

सूचना बिना शल्यक्रिया सेवा बन्द गर्दा बिरामीलाई सास्ती

कोशी अञ्चल अस्पताल विराटनगरले सूचना बिना शल्यक्रिया सेवा बन्द गर्दा बिरामीले सास्ती पाएका छन् ।

मर्मत र रङ्गरोगन गर्ने भन्दै अस्पतालले एकसातादेखि बिना सूचना शल्यक्रिया सेवा बन्द गर्दा शल्यक्रिया सेवाका लागि अस्पतालले बोलाएका बिरामीले सास्ती पाएका हुन् ।

अस्पतालमा दैनिक १० देखि १२ जना बिरामीले शल्यक्रिया सेवा लिने गरेको भएपनि अस्पताल आफैँले बोलाएको समयमा सेवा बन्द छ भन्दै फर्काएको विराटनगर महानगरपालिका–१२ का २९ वर्षीय सदानन्द ऋषिदेवले बताए ।

गोडामा चोट लागेर अस्पताल भर्ना भएका उनी चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने र गोडामा स्टील राख्नु पर्ने भन्दै सबै तयारी गरी आउनु भनेपछि जेठ २१ गते अस्पताल पुगेका थिए ।

अस्पताल पुग्दा मात्र उनले आफ्नो अप्रेशन सरेको र कुन मितिमा हुने एकिन नभएको डक्टरहरूबाट थाहा पाए ।

उनले भने–‘सबै तयारी गरी अस्पताल आएको यहाँ आएपछि बन्द भन्छन् । पहिले नै भनेको भए राम्रो हुने थियो । यत्रो ठूलो अस्पतालमा फोन त होला नि ?’

बजेट ढिलो आएका कारण मर्मत र रङ्गरोगन गर्न ढिला भएको र करिव साताका लागि शल्यक्रिया सेवा बन्द गरिएको अस्पतालमा मेडिकल सुपरिटेन्डेण्ट डक्टर रोशन पोखरेलले बताए ।

अस्पतालको रूटिङमा आएका शल्यक्रिया गर्नुपर्ने बिरामीले सास्ती पाएपनि आस्कमिक रूपमा शल्यक्रिया गर्ने कोठाको अभाव हुँदा बिरामीले सास्ती पाएको अस्पताल प्रशासनको भनाई छ ।

भाइको पत्थरीको शल्यक्रिया गर्न अस्पतालको रूटिङमा आएका जिल्ला सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–४ का श्याम मण्डलले अस्पतालले ठोस कुरा नगर्दा दुःख पाएको बताए । सरकारी अस्पताल भनेर सेवा लिन आउँदा समस्या भएको उनले गुनासो गरे ।

अन्य

भिडियो